फागुनको मध्यमा हिउँ र पानी, हिउदेबाली सप्रने आशामा किसान

काठमाडौँ- हिमाली जिल्ला मुगुमा भएको हिमपातले कर्णाली लोकमार्गअन्तर्गत नाग्म-गमगढी सडक अवरुद्ध भएको छ । बिहीबारदेखिको हिमपातले घुच्चीलेक क्षेत्रमा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ ।
यसैगरी रसुवाको उच्च हिमाली क्षेत्रमा पनि हल्का वर्षासंगै हिमपात भएको छ ।
हिमपातले बारीमा लगाएको हिउदेबाली सप्रने आशाले किसान खुसी भएका छन । जिल्लाको पाँचवटै गाउँपालिकाका हिमाली भेगमा हिजो साँझ हिमपात भएको हो ।
यस पटक लामो समय पानी र हिउँ नपर्दा फागुनको मध्यमा हिउँ र पानी परेपछि आन्तरिक पर्यटक समेत हिउँ खेल्न जिल्लाको उच्च स्थानमा आउने क्रम बढने लाङटाङका फिन्जो तामाङले बताउनुभयो । जिल्लाको नागथली,क्यान्जिङ,लाङटाङ,चन्दनवारी,गोसाइकुण्ड लगायतका पदमार्गमा हिमपात भएको छ ।
यसै गरी बागलुङ जिल्लाको ढोरपाटनमा पनि हिमपातले जनजीवन प्रभावित भएको छ । भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् ।
हिमपात परेपछि उत्तरी गोरखाको चुमुनब्रीका किसान खुशी
यता उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका बिभिन्न क्षेत्रमा शुक्रबारदेखि परेको हिमपातका कारण किसान खुशी भएका छन् । हिउँ र पानी परेपछि किसानले लगाएको बालीनाली राम्रो हुने भएकाले चुमनुब्री गाउँपालिका–१, साम्दोलगायत सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रका स्थानीय किसानहरु खुशी भएको वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो ।
चुमनुब्री गाउँपालिकाका सवै जसो क्षेत्रका किसानहरु सिँचाइका लागि आकाशे पानीको भरपर्नु पर्ने बाध्यता रहँदै आएको छ । त्यहाँका किसानहरुले खेतीबालीका रुपमा यतिबेला जौँ, गहुँ बाली लगाउने गर्दछन् ।

हिमपातका कारण मनास्लु पदमार्गबाट लार्केपास गर्न हिडेका पर्यटकहरुलाई भने आवतजावत समस्या हुँदै आएको छ । पदमार्गमा बाक्लो हिउँका कारण पर्यटकलाई साम्दोमा रोकिएका छन् । भारी हिमपातले त्यस क्षेत्रमा रहेका बालबालिका र बृद्धबृद्धाहरु चिसोका कारण घरबाहिर निस्कन सक्ने अवस्था नरहेको लामाको भनाई छ ।
हिमपातका कारण स्थानीबासीलाई घाँस दाउरा गर्न पनि कठिनाइ भएको उहाँले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्