कर्मचारी सरुवाको मारमा प्रदेश सरकार

दाङ- लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भन्दा छिटो प्रशासनिक नेतृत्व परिवर्तन हुने गरेको देखिएको छ । बितेको सात वर्षको अवधिमा लुम्बिनी प्रदेशमा छ जना मुख्य मन्त्री परिवर्तन भएका छन् भने प्रमुख सचिव ९ जना परिवर्तन भैसकेका छन् ।
संघबाट प्रदेशको प्रमुख सचिवका रुपमा सरुवा भएर आएपछि प्रदेशको बारेमा बुझिनसक्दै पूनः सरुवा हुने प्रवृत्तिले प्रदेशको कार्य सम्पदान मै असर परिरहेको प्रदेश सरकारको भनाई छ ।
आफ्ना लागी संरचना तथा कानून निर्माणदेखि नागरिकका अपेक्षा पुरा गर्ने सम्ममा प्रदेश सरकारका आ-आफ्नै समस्या छन् । ती समस्याको सहजीकरण गर्ने स्थायी सरकारको रुपमा चिनिने कर्मचारी प्रयाप्त नहुँदा प्रदेशहरुले झनै समस्या झेलिरहेका छन् ।
कर्मचारी नभएको मात्र होइन भएका कर्मचारीहरु पनि छिटो छिटो सरुवा हुने प्रवृत्तिले पनि प्रदेश सरकारलाई समस्यामा पारेको छ । प्रदेशमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने प्रमुख सचिव नटिक्ने समस्या पनि प्रदेश सरकारहरुले झेलिरहेका छन् ।
प्रदेश सरकारले आफ्ना मन्त्रालयका सचिव एवं प्रमुख सचिवको सरुवा कुनबेला हुने हो थाहै पाउदैनन् । लुम्बिनी प्रदेशको ७ वर्षे कार्यकालमा ९ जना प्रमुख सचिव फेरिए । तीमध्ये बहालवाला बाहेक प्रदेशमा एक वर्ष कार्यकाल कटाएका तीन जना मात्र छन् ।
सबै भन्दा बढी तोयनारायण ज्ञवाली १५ महिना लुम्बिनी प्रदेशको प्रमुख सचिवका रुपमा रहनु भयो भने डिल्लीराम शर्मा र डा. तिर्थराज ढकाल एक एक वर्ष लुम्बिनी प्रदेशको प्रमुख सचिवका रुपमा रहनुभयो ।
महादेव पन्थ, राधिका अर्याल र डा. दिपक काफ्ले ८-८ महिना मात्र लुम्बिनी प्रदेशको प्रमुख सचिवका रुपमा रहनुभयो । यस्तै भरत सुवेदी ७ महिना र प्रदेश स्थापनाकालका प्रमुख सचिव शंकर प्रसाद पाठक ५ महिना मात्रै प्रमुख सचिवको रुपमा लुम्बिनी प्रदेशमा रहनु भयो ।
सरकार परिवर्तन भन्दा छिटो प्रदेशको प्रमुख सचिव परिवर्तन हुँदा सरकारको नेतृत्व गर्ने मुख्यमन्त्रीलाई पनि काम गर्न निकै अप्ठ्यारो पर्ने गरेको पूर्व मुख्यमन्त्रीहरु बताउनु हुन्छ ।
प्रशासनिक संयन्त्रको नेतृत्वको छिटो छिटो परिवर्तनले कार्यसम्पादनमा समस्या पर्ने गरेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य बताउनु हुन्छ ।
प्रशासनिक निकायका प्रमुखहरुको छिटो छिटो परिवर्तनले संघबाट आउने कर्मचारीहरु प्रदेश प्रति उत्तरदायी नहुने र यस्ले प्रदेशको समग्र कार्यसम्पादनमा ठूलो असर पार्ने पूर्व प्रशासकहरु बताउछन् ।
प्रदेशको नेतृत्व गर्ने जिम्मेवार पदाधिकारीले प्रदेशको बारेमा बुझ्न नपाउँदै हुने सरुवाले कार्य सम्पादनमा असर पारिरहे पनि छिटो छिटो सरुवा हुनुमा विभिन्न कारण देखिने गरेको लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको बुझाई छ ।
सरकार परिवर्तन भएसँगै प्रमुख सचिव र सचिवहरु आफू अनुकुल हुने गरी ल्याउन खोज्ने प्रवृत्ति राजनितिक नेतृत्वमा देखिने गरेको छ । यस्तै प्रमुख सचिव तथा सचिवहरु पनि आफ्नो अनुकुलताका लागि प्रदेशमा आउने र केही समय घुमेर फर्किहाल्ने परम्परा जस्तै बनेको छ ।
जस्ले प्रदेशको औचित्य माथि प्रश्न उठाउनेलाई थप बल पुगिरहेको छ भने प्रदेश सरकारले चाहेर पनि कार्य सम्पादनलाई प्रभावकारी बनाउन सकिरहेका छैनन् ।






प्रतिक्रिया राख्नुहोस्