उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मानसहित पुरस्कार

नुवाकोट-  उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई नुवाकोटको तारकेश्वर गाउँपालिकाले सम्मानित तथा पुरस्कृत गरेको छ ।

नगद पुरस्कारसहित पुरस्कृत भएपछि विद्यार्थी तथा विद्यालयमा हौसला थपिएको छ । सामुदायिक विद्यालयबाट शैक्षिक सत्र २०८१÷०८१ मा उत्कृष्ट अङ्क ल्याएका विद्यार्थी र विद्यालयलाई नगद पुरस्कारसहित सम्मानित गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले विद्यार्थी तथा विद्यालयलाई पुरस्कृत गर्नुभएको हो। उहाँले शिक्षामा सुधार आवश्यक रहेको र नगद पुरस्कारसहित सम्मानित तथा पुरस्कृत भएका विद्यार्थी तथा विद्यालयहरूलाई उत्प्रेरणा भएको बताउनुभयो । अव नेपालमा शिक्षाको प्रणालीलाई सुधार गर्न आवश्यक रहेकोसमेत महतले बताउनुभयो ।

कार्यक्रममा तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी (अविरल), प्रमुख प्रशासकीय अधिकृत सिर्जना अर्याल, तारकेश्वर गापाको वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले विद्यार्थी तथा विद्यालयलाई दोसल्ला ओढाउनुका साथै नगद पुरस्कारद्वारा सम्मानित गर्नुभयो ।

शैक्षिक सत्र २०८० मा गाउँपालिका स्तरीय आधारभूत तह कक्षा – ८ उत्तीर्ण परीक्षामा औसत जिपिएका आधारमा उत्कृष्ट भएको तारकेश्वर ६ स्थित बागेश्वरी आधारभूत विद्यालयलाई नगद २० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र तथा दोसल्लाद्वारा सम्मान गरिएको हो ।

उत्कृष्ट छात्रतर्फ पिपलडाडा माविका सुदीप लामिछाने र छात्रातर्फ शंखादेवी माविका सरिता घिमिरेलाई जनही सात हजार रुपैयाँसहित नगद प्रमाण पत्र र दोसल्लाद्वारा पुरस्कृत गरिएको तारकेश्वर गापा शिक्षा शाखाले जनाएको छ ।

शैक्षिक सत्र २०८० मा गाउँपालिकाबाट एसइई परीक्षामा छात्रातर्फ उत्कृष्ट चण्डी माविकी स्मृति हुमागाईँ र छात्रतर्फ शंखादेवी माविका साजन तामाङलाई जनही १० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको हो ।

सोही अवसरमा एसइई परीक्षामा २०८० को नतिजामा औसत जपिएका आधारमा उत्कृष्ट भएको पिपलडाडा मावि. तथा उत्तीर्ण प्रतिशतका आधारमा उत्कृष्ट भएको विद्यालय चण्डी माविलाई जनही २५ हजार रुपैयाँसहित प्रमाणपत्र तथा दोसल्लाद्वारा सम्मान गरिएको छ । उत्कृष्ट विद्यार्थी तथा विद्यालय छनौट गरी निरनतर रूपमा पुरस्कृत तथा सम्मान गरिने तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.