माझी समुदायले आज लदी पर्व मनाउँदै

मकवानपुर- माझी समुदायले आज लदी पर्व मनाउँदैछन् । हरेक वर्ष फागुन महिनाको तेस्रो मंगलबार माझी समुदायले लदी अर्थात् कोशी पूजा गर्दै आएका छन् । सो अवसरमा देशै भरीका माझी समुदायले नजिकका नदि खोलामा गएर भब्य रुपले नदि खोलाको पुजा गर्ने गर्दछन । बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) को प्रमुख आतिथ्यतामा नेपाल माझी उत्थान संघ केन्द्रिय समितिले मकवानपुर जिल्लाका बकैया गाउँपालकिा वडा नम्बर ६ जुईनामा शुभकामना आदानप्रदान शुभकामना आदान प्रदान कार्यक्रमम राखिएको छ ।

माझीहरुको सघन बस्ती भएका स्थानीय तहहरुले सार्वजनिक विदा समेत दिने गरेका छन् । बागमती प्रदेशले माझी समुदायहरुलाई सार्वजनिक विदा दिएको छ ।

नेपाल सरकारले सूचिकृत गरेको ५९ आदिबासी जनजाति मध्ये माझी जाति पनि एक हो । खोला तथा नदि किनारमा बसोबास गर्ने यो जाति माछा मार्ने, डुङ्गा चलाएर आफ्नो जिविकोपार्जन गर्ने जातिको रुपमा चिनिए पनि हाल आएर यी पेशाहरुबाट जिविकोपार्जन हुन छाडे पछि बढि जसो खेतीपाती गरेर आफ्नो जिविकोपार्जन गर्ने गरेका छन् । यसका अलवा ज्याला मजदुरी, साना तिना जागिर तथा विदेश जाने प्रचलन पनि हाल प्रशस्त मात्रमा छ ।

यो जातिको आफ्नै भाषा, धर्म, संस्कार संस्कृति, भेषभुषा, रहन सहन र सामाजिक परम्परा छ । जातिय स्वभाव अत्यन्त सोझा मिजासिला र मेहनती यो जाति, सकेसम्म आफ्नो समुदायमा मात्र बस्न रुचाउछन् ।

विषेश गरि सप्तकोशी नदिका छेउछाउ, भित्री मधेश र तराई क्षेत्रमा यो जातिको बढि बसोबास रहेको पाइन्छ । सरकारले आदिबासी जनजातिको बर्गिकरणमा अतिसिमान्तकृत जातिकोरुपमा बर्गिकरण गरेको छ । २०७८ सालको जनगणना अनुसार नेपालमा माझी समुदायको संख्या  १ लाख ११ हजार तीन सय ५२ रहेको छ । यो जातिले बोल्ने छुट्टै भाषा छ । जसलाई माझी भाषा भनिन्छ । माझी भाषा बोल्नेको संख्या ३२ हजार ९ सय १७ रहेको तथ्याङ्क छ ।

लदि (कोशी) पुजा ः
लदि (कोशी) पुजा माझीहरुमो प्रमुख चाड हो । यो चाड विशेष किसिमले पानीको स्थानीय रुपमा जहाँ जुन खोला नदि छ त्यसलाई पुजा गरेर चाडको रुपमा मनाउँने गर्दछन् । माझीहरुको साझे संस्था नेपाल माझी उत्थान संघको २०६५ साल माघ २८ गतेको केन्द्रिय समितिको बैठकले यसलाई राष्ट्रिय चाडको रुपमा घोषण गरेको छ । ठाउँ विशेष रुपमा यो चाड बैशाख, असार, माघ र फाल्गुणमा मनाईने भएता पनि हाल नेपाल माझी उत्थान संघकै पहलमा देश भरिनै फाल्गुण महिनाको साईली (तेश्रो) मगलबार मनाउने गरिएको छ । त्यस भन्दा पहिले धेरै जसोले फागुन महिनार ठाउँ अनुसार फरक फरक मितिमा मनाईने गरेको पाईन्छ ।

पुजाको दिन ः

पुजाको पहिलो दिन अर्थात फाल्गुणको तेश्रो (साईली) मंगलबार पुजाको शुरुको दिन हो । यो दिन शुरुमा सवैले आफ्ना घरका कुल, पित्रि र अन्य देबी देवतालाई सम्झना स्वरुप घरमा लिपपोत, चोखोनितो गरी जाँड, रक्सी, कुखुरा काटेर कुखुराको मासु, माछा, केरा, रोटी दियो बालेर टपरी र दुनामा चढाउने चलन छ । कुनै कुनै ठाउँमा नजिक रहेको देवी देवताको थानमा गएर पनि पुजा गर्ने चढाउने चलन छ भने कुनै ठाउँमा यसो नगरी खोलामानै गएर स्थानीय रुपमा मान्ने सवै देवी देवता स्थापना गरी पुजा गर्ने चलन रहेको छ । गाउँ भरिका मानिसहरु जम्मा भएर खोलामा जान्छन । त्यस पछि पुजारीले गोवरले लिपपोत गरी मुलरुपमा स्थानीय खोला नदिलाई, भिमसेन र त्यस पछि त्यहाँ रहेको स्थानीय देवी देवताको ढुङ्गाको स्तम्भ बनाउने काम हुन्छ । स्थानीय देवी देवता ठाउँ अनुसार फरक फरक हुन पनि सक्छ यसरी स्थापना भएका देवी देवताको थानलाई चोखो गोवले लिपपोत गरी फुल अक्षेत चढाई धुप दियो गर्ने चलन छ । देवी देवता अनुसार विभिन्न किसिमको भोगको रुपमा बली दिने गरिन्छ । बली चढाएको पशु पंक्षिको मासु प्रसादको रुपमा सवैले ग्रहण गर्दछन ।

पुजाको दोश्रो दिन ः

लदि (कोसी) पुजाको दोश्रो दिन गाउँ भरिका मानिसहरु विहानै पुजारीको घरमा जम्मा हुन्छन । अघिल्लो दिन भएको पुजाको बारेमा केहि समिक्षा समेत गर्ने गर्दछन । र केहि विधिको काम समेत गर्दछन । हाम्रो समाजमा राक्षसलाई मावन संहारकर्ताको रुपामा लिईन्छ त्यसैले राक्षसलाई ध्वस्त गर्नु पर्छ भन्ने उद्धेश्यले धान कुट्ने ओखललाई राक्षसको प्रतिकको रुपमा लिईन्छ र त्यसलाई धनुषकाँढले हानेर लडाईन्छ । सामान्यतया धनुषकाँढले हानेको भरमा ओखल लडेन भने धकेलेर भए पनि लडाउनु पर्छ र सवैले राक्षस माथि विजय प्राप्त गरेको उपलक्ष्यमा खुशीले तालि बजाउँछन र विजय उत्सव मनाउँछन । गाउँ भरिका युवाहरु जम्मा भएर यसपालीको सव भन्दा बलियो को रछ भनेर बल दाँज्नको लागि गोलो ढुङ्गालाई छेलो हान्ने चलन पनि छ । सव भन्दा टाढा छेलो जसले हान्छ उनै बलबान ठहरिन्छ र स्याबासीपनि पाउँछ र फेटा बाँधि दिने चलनपनि छ । लादि पुजाको कारणले जेजे काम गर्न बाधा पुगेको थियो जस्तै हलो जोत्न, दाउरा काट्न, घाँसपात गर्न सवै काम गर्नको लागि आजबाट फुक्यो है भने औपचारिकरुपमा बुढापाकाले घोषण गर्दछन ।

पुजाको अन्तिम दिन ः

यो दिन सवैलाई औपचारिक विदा गर्ने दिन हो । यो दिन गाउँका बुढापाकाहरु मान्यगन्यहरु र पुजारी समेतको उपस्थितिमा भान्सेलाई विदा गर्ने चलन छ । पुजारीले हामीले लदि (कोसी) को पुजा गर्यौ । जे जान्यौ त्यहि गर्यौ । पुजाको प्रसाद आफु पनि खायौ अरुलाई पनि खुवायौं । जसले जे जन्याथ्यौ त्यहि गर्यौ, भान्साको काम जान्नेले भान्साको काम गर्यौ, भन्ने पनि गरिन्छ । युवाहरुले त्यस दिन छेलो फाल्ने (ढुङ्गा लाई पर सम्म फाल्ने) र डोरी तान्ने पनि गरिन्छ, जसले छेलोलाई पर सम्म फाल्दछ उसलाई विजय घोषित गरिन्छ र स्यावास पनि दिईन्छ भने कतै कतै फैटा बाँधि दिएर हौसला दिने चलन पनि छ । यसरी सवै सँग साईनो अनुसार ढोगभेट गरि सकेपछि पाहुनाहरु विदा गरि सकेपछि पुजा समाप्त हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.