थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गरी पानी सुचारु गराउन मन्त्री यादवको निर्देशन

काठमाडौँ- खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ स्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी पानी सुचारु गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।
मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षति भएको खबर पाउनासाथ मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मतगरी नागरिकलाई शुद्ध पानी वितरण गर्न निर्देशन दिनुभएको हो ।
मन्त्री यादवले भन्नुभयो, “हाल म नेपाल र भारत सरकारबिच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर गर्न नयाँ दिल्लीमा छु । तथापि, मैले सम्बन्धित निकायलाई तत्काल पाइप मर्मत गरी मेलम्चीको पानी सुचारु गर्न निर्देशन दिइसकेको छु ।”
यसै गरी मन्त्री यादवले पाइप फुटेको घटनाको विषयमा छानबिन गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो, “थापाथली चोकबाट निर्भीक इन्टरनेशनल अस्पताल जाने सडकमा पाइप फुट्दा सर्वसाधारणलाई परेको असुविधाप्रति म गहिरो दुःख व्यक्त गर्दछु । सो घटनाका विषयमा छानबिन गर्छौँ ।”
मन्त्री यादवको निर्देशन पश्चात् अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले मर्मत कार्य तीव्र रूपमा अघि बढाइ आजै पानी वितरण गरिने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्