दाङको टरिगाऊँ एयरपोर्ट विस्तार हुने

दाङ – बजेट अभावका कारण लामो समयदेखि विस्तार हुन नसकेको दाङको टरिगाऊँ विमानस्थलको विस्तार हुने भएको छ ।
हालै मात्र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दाङको टरिगाऊँ विमानस्थल सहित कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न थप बजेट माग गरेपछि यो विमानस्थल विस्तार हुने भएको हो । टरिगाऊँ विमानस्थलसँगै कर्णालीका सुर्खेत र जुम्ला विमानस्थल पनि विस्तार हुने भएका पर्यटन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन विमानस्थलमा यो वर्ष २१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित बजेटले नपुग्ने भएपछि अहिले ६ अर्ब २९ करोड रुपैयाँ थप बजेट माग गरिएको हो । प्रवक्ता लामिछानेका अनुसार यी विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्न नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस भएर आएबमोजिम फागुन १५ गते बसेको मन्त्र स्तरीय बैठकले थप बजेट माग गर्ने निर्णय गरेको थियो ।
टरीगाँउ विमानस्थलको जग्गा अधिग्रहणका लागि ५ अर्ब लागत अनुमान गरिएकोमा यो वर्ष १ करोड विनियोजन भएको छ । यसका लागि ९९ करोड थप बजेट माग गरिएको छ । दाङको तुलसीपुरमा रहेको विमानस्थल सञ्चालन हुन नसक्दा दाङ, रोल्पा र सल्यानका स्थानीयलाई हवाई यात्राबाट काठमाण्डौँ जान नेपालगन्ज र भैरहवा पुग्नुपर्ने बाध्यता रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्