बाढी पहिरो ५ महिना बितिसक्दा पनि प्रभावित चर्किएको घरमा

काभ्रे- विपद् पछिको ५ महिना बितिसक्दा पनि बाढी पहिरो प्रभावितका लागि सरकारले ठोस कदम चाल्न नसक्दा– पनौती–१२ रोशीका प्रभावितहरू जोखिम मोलेरै चर्किएको घरमा बस्न बाध्य छन् ।
असोज १२ मा रोशी खोलामा आएको बाढीले गाउँभर वितण्डा मच्चायो, त्यही बेला भत्केको घरमा पाँच महिना बितिसक्यो तर सरकारले विपद् प्रभावित लाभग्राहीको विवरणसमेत सङ्कलन नगरेको उनीहरूको भनाइ छ । पनौती–२ स्थित नयाँ गाउँ, मै खोरिया, तोरी खोरिया, वडा–१२ को रोशी बजार र कलातीका केही क्षेत्र, वडा–११ को थुम्की डाँडालगायतका बस्ती बाढीबाट प्रभावित छन् । पीडित जोखिम मोलेरै क्षतिग्रस्त घर टहरामा बसेका छन्, बस्ती छाड्न सक्ने विकल्प उनीहरूसँग छैन ।
आफूसँग जे–जस्तो छ, त्यसैमा बस्नुबाहेक अर्को विकल्प नभएको प्रभावितहरूको भनाइ छ । ‘हिउँदभर जसोतसो बसियो, वर्षामा यहाँ बस्न सकिँदैन होला, ‘बाढी र पहिरो दुवैको जोखिम छ, जेठसम्म ठुलो पानी परेन भने यहीँ बस्ने, जेठपछि पनौती बजारतिर कोठा खोज्ने बत्ताउँछन् ।
कात्तिक ५ मा बसेको विपद् व्यवस्थापन समिति बैठकले जोखिमयुक्त बस्तीको भौगोलिक अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । बैठकले बाढी पहिरोका कारण बस्न योग्य नभएको र स्थानान्तरण गर्नुपर्ने घरपरिवार तथा बस्ती पहिचान गरी विवरण पठाउन सबै स्थानीय विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने भनेको थियो ।
काभ्रेका १३ वटा स्थानीय तहमध्ये ५ वटाले मात्र लाभग्राहीको विवरण सङ्कलन गरेका छन् । धुलिखेल नगरपालिकामा ८६, नमो बुद्ध नगरपालिकामा ८२४, रोशी गाउँपालिकामा ५४८, चौरींदेउराली गाउँपालिकामा २७८ र महाभारत गाउँपालिकामा १७ घरपरिवार पीडित रहेको विवरण सङ्कलन भएको छ ।
प्रतिक्रिया राख्नुहोस्