महिला विरूद्धको विभेद अन्त्य गर्न सम्बन्धित सबैमा राष्ट्रपतिको आव्हान

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको हक, अधिकारको संरक्षण र प्रवर्द्धनको क्षेत्रमा क्रियाशील सबैमा सुख, शान्ति एवम् समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत सबैमा शुभकामना व्यक्त गर्नुभएको हो ।

महिला अधिकार तथा लैङ्गिक समानता प्रवर्द्धनका पूर्ण प्राप्तिका लागि हरेक वर्ष आठ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने गरिएको छ । यस वर्ष “सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण” भन्ने आदर्श वाक्यका साथ यो दिवस मनाईंदैछ ।

राष्ट्रपति पौडेलले शुभकामना दिनुहुँदै लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रकृया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाहरूको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने बताउनु भएको छ ।

उहाँले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई निर्मूल गर्न थप प्रभावकारी एवम् सिर्जनात्मक कार्यक्रम आयोजना गर्न जरूरी देखिएको बताउनु भएको छ ।

जनसंख्याको आधा हिस्सा ओगटेका महिला सशक्त भएमा सिङ्गो परिवार, समाज र समग्र राष्ट्र नै समृद्धिको मार्गमा अगाडि बढ्ने हुदाँ यसतर्फ विशेष ध्यान पुर्‍याउन जरूरी देखिएको राष्ट्रपतिले शुभकामना सन्देशमा उल्लेख गर्नुहुँदै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला विरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ-आफ्नो क्षेत्रबाट योगदान गर्न सम्बन्धित सबैलाई आव्हान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.