कोसी प्रदेशमा लागु औषधविरुद्ध सशक्त प्रहरी अभियान: “अबको युद्ध, दुर्व्यसनविरुद्ध“

सुनसरी — कोसी प्रदेशमा लागु औषधविरुद्ध सशक्त अभियान सुरु भएको छ । कोसी प्रदेश प्रहरी कार्यालय, विराटनगरले सुनसरीको इटहरीबाट आजदेखि “अबको युद्ध, दुर्व्यसनविरुद्ध“ नामक अभियानको औपचारिक शुभारम्भ गरेको हो।
समारोहको उद्घाटन गर्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पूर्वी नेपालमा युवा पुस्तामा लागु औषधको प्रयोग गम्भीर समस्या बनेको बताउनुभयो । उहाँले मानिस पहाडबाट तराई झर्ने र तराईबाट पहाडतर्फ लागु औषध जालो उक्लिन थालेको चिन्ता व्यक्त गर्नु भएको छ ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, “लागु औषधको कुलतले हाम्रो युवापुस्ताको भविष्य अन्धकारमय बनाउँदै छ। यदि सबै पक्ष एकजुट नभए, यसको प्रभावले राष्ट्र विकासमा गम्भीर असर पु¥याउनेछ।“
दुर्व्यसन न्यूनीकरण: लागु औषध प्रयोग घटाउन विशेष रणनीति लागू गरिने । अपराध नियन्त्रण: लागु औषध ओसारपसार तथा वितरणमा संलग्न समूहहरू विरुद्ध कठोर कारबाही गर्ने प्रदेश प्रहरीले लक्ष्य लिएको छ ।
सचेतना कार्यक्रम: विद्यालय, क्याम्पस, र समुदायमा सचेतनामूलक अभियानहरू सञ्चालन र पुनर्स्थापना लागु औषध दुर्व्यसनबाट मुक्त भएका व्यक्तिहरूलाई पुनः समाजमा समाहित गराउन सहयोग गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।
कोसी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. राजन अधिकारीले अभियानको प्रभावकारिता सुनिश्चित गर्न प्रहरी निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समाजमा मौलाउँदै गएको लागु औषध दुर्व्यसन निर्मूल पार्न प्रहरी जनतासँग मिलेर काम गर्ने बताउनुभयो।
कार्यक्रममा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, समाजसेवी, युवा, विद्यार्थी, अभिभावक, तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गरे।
यस अभियानले कोसी प्रदेशलाई लागु औषधमुक्त, सुरक्षित, र समृद्ध बनाउन निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रहरी, स्थानीय निकाय, र समुदायको समन्वयमा अभियानलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन विशेष रणनीतिहरू अवलम्बन गरिने जनाइएको छ।
प्रतिक्रिया राख्नुहोस्