पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्तालाई एक वर्ष कैद र दुई लाख जरिवाना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्तालाई लागूऔषध कसूरमा एक वर्ष कैद र दुई लाख जरिवानाको सजाय तोकिएको छ ।
जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गत साता गुप्तालाई लागु औषधमा कसूरदार ठहर गरेको थियो ।
कसूर ठहरपछि आज भएको सजाय निर्धारण फैसलामा गुप्तालाई उक्त सजायको फैसला भएको अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीले बताउनुभयो ।
उक्त सजायबाहेक गुप्तालाई ‘क्षतिपुर्ति शुल्क पीडित राहत कोष’ मा आठ हजार जरिवाना दाखिला गर्नुपर्ने पनि फैसलामा उल्लेख छ ।
यसैगरी, अध्यक्ष गुप्तासँगै लागूऔषधमा कसूरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला भएको छ ।
लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने र त्यसको आधारमा अध्यक्ष गुप्तालाई आधा सजाय हुने गरी सजाय निर्धारणको पेशी तोकिएको थियो ।
धोबीलाई गरिएको उक्त सजायको आधारमा अध्यक्ष गुप्तालाई एक वर्ष कैद र २ लाख जरिवाना तोकिएको हो । लागूऔषध अभियोगमा २०७९ असोज २६ गतेदेखि पुर्पक्षमा रहेका धोबी पटक पटक लागूऔषधमा कसूरदार देखिएकाले थप एक वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ ।
धोबीले ‘क्षतिपुर्ति शुल्क पीडित राहत कोष’ मा १८ हजार दाखिला गर्नुपर्ने पनि फैसलामा भनिएको छ । धोबी पाल्हीनन्दन गाउँपालिकामै रहेको आधारभूत अस्पतालका सुरक्षा गार्डसमेत हुन् ।
अध्यक्ष गुप्तासहित लागूऔषध मुद्दामा पाँच जनाविरुद्ध मुद्दा दायर भएको थियो । जसमध्ये रामा गुप्ता भन्ने रामा साह र जीतेन्द्र पासवानले सफाइ पाएका छन् ।
अभियोग लागेका पाल्हीनन्दन गाउँपालिका- ३ का मन्टु भनिने विवेक प्रसाद पाण्डे अझै फरार छन् । पाण्डेको मुद्दा मुलतबी (फरार रहेकाले कारबाही स्थगन) मा राखिएको अदालतले जनाएको छ ।
यसैबीच कैद र जरिवाना फैसला भएका अध्यक्ष गुप्ताले अब कानुनी व्यवस्थाअनुसार धरौटी राखेर पुनरावेदन गर्न पाउने छन् । थुनामा बस्नु नपर्ने भएपछि गुप्ताको अध्यक्ष पदसमेत कायम नै रहने जनाइएको छ ।
अध्यक्ष गुप्तालाई २०७९ सालमा दुई जना व्यक्तिलाई फसाउने उद्देश्यले लागूऔषध सहितको झोला फ्याँकेर षड्यन्त्र रचेको भन्दै दोषी ठहर गरेको थियो ।।
प्रतिक्रिया राख्नुहोस्