महिला सेलमा कार्यरत प्रहरीलाई मनोसामाजिक विमर्श तालिम

वुटवल – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा नेपाल प्रहरी र लुम्बिनी प्रदेश, सामाजिक विकास मन्त्रालयको सहकार्यमा सो मनोसामाजिक विमर्श तालिम आयोजना गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्म जय तिमिल्सिनाले प्रहरीलाई संवेदनशील मुद्दाहरूमा अझ प्रभावकारी रूपमा कार्य सम्पादन गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
महिला, बालबालिका तथा लैङ्गिक हिंसासँग सम्बन्धित घटनाका पीडितहरूलाई प्रभावकारी रूपमा मनोसामाजिक परामर्श प्रदान गर्नका लागि महिला तथा बालबालिका सेलमा कार्यरत प्रहरीहरूको क्षमता अभिवृद्धि गर्नु तालिमको मुख्य उद्देश्य रहेको वरिष्ठ प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठको भनाई छ ।
मनोविमर्श मार्फत पीडितहरूको मानसिक स्वास्थ्य सुदृढ बनाउन तथा अन्य आवश्यक सहयोग पु¥याउनका लागि तालिम मार्फत प्रहरीलाई दक्ष बनाउने लक्ष्य राखिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय का उपसचिव केशव उपाध्यायको भनाई छ ।
आगामी २० गतेसम्म सञ्चालन हुने तालिममा मनोविज्ञान, परामर्श विधि, सहानुभूति, ट्रमा व्यवस्थापन, कानुनी पक्ष तथा व्यवहारिक अभ्यास जस्ता विषय वस्तुहरू समेटिएको तालिमका प्रशिक्षक तथा महिला समुत्थान परियोजनाका परामर्शदाता मञ्जु सिंह राणाको भनाई छ ।
परियोजनाले देशभरका करिब ८ सय जना प्रहरीलाई क्षमता अभिवृद्धि तालिम प्रदान गर्ने लक्ष्य रहेको जनाएको छ । यस किसिमको तालिमले सामाजिक संकट व्यवस्थापन गर्नुका साथै प्रहरीको व्यवसायीक क्षमता अभिवृद्धि, आपराधिक क्रियाकलाप नियन्त्रण, मानव तस्करी न्यूनीकरण जस्ता कुराहरूलाई पनि सघाउ पुराउने छ । प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजित उक्त मनोसामाजिक विमर्श तालिममा प्रदेश भरका ३० जना प्रहरी सहभागी छन् ।
प्रतिक्रिया राख्नुहोस्