गुल्मी राष्ट्रिय परिचयपत्र बनाउनेको अत्यधिक भिड

गुल्मी – पछिल्ला दिनहरूमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड अत्यधिक बढेको छ । राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि एकै दिन ३ सय बढीले सेवा लिएका छन् ।
यो सेवा अहिलेसम्मकै धेरै हो । सरदर ४० देखि ८० जनासम्मको क्षमता रहेको प्रशासन कार्यालय गुल्मीका आइतबार एकै दिन ३ सय ३ जनाले सेवा लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।
जसमध्ये १३७ जनाले राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि विवरण दर्ता गराएका छन् । १५१ जनालाई परिचयपत्र वितरण गरिएको छ । १५ जनाले विवरण त्रुटि भएकाले सच्चाउने काम गरिएको गैरेले बताउनुभयो ।
फागुन २७ गतेदेखि ३ दिनसम्म राष्ट्रिय परिचयपत्रको सर्भरमा समस्या देखिएर अवरुद्ध बनेको थियो । आइतबारबाट सुचारु भएपछि प्रशासन कार्यालयमा अत्यधिक बढेको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा पछिल्लो केही दिन यता एक सातामा १ हजार ३ सय बढीले राष्ट्रिय परिचयपत्रका लागि सेवा लिन आउने गरेका छन् । सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिएपछि परिचयपत्र बनाउने सङ्ख्या वृद्धि भएको छ ।
अहिले प्रशासन कार्यालयमा ३ वटा स्टेसनबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य गरिएको छ । तर अहिले दोब्बरले सङ्ख्या वृद्धि हुँदा सेवा ग्राहीलाई पनि समस्या हुने गरेको छ ।
जिल्लामा करिब ८० हजार बढीलाई राष्ट्रिय परिचयपत्र वितरण भएको छ । जिल्लामा हालसम्म २ लाख १० हजार बढीले राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि विवरण दर्ता गराएका छन् । त्यसमध्ये १ लाख ८९ हजार को राष्ट्रिय परिचयपत्र बनेर आएको छ ।
राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक् नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहु उपयोगी प्रमाणपत्र हो । वैयक्तिक विवरण अन्तर्गत नाम, ठेगाना, जन्म मिति, बुबा–आमाको नाम, हजुरबुबा–आमाको नाम, श्रीमान्(श्रीमतीको नाम, स्थायी(अस्थायी ठेगाना पर्दछन् ।
जैविक विवरण अन्तर्गत औँठाछाप, दुई वटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । नागरिकका सेवा सुविधाहरू सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्त्वपूर्ण रहने छ ।
परिचयपत्र विवरण दर्ता सङ्कलन गर्न नागरिकता, बसाइँ सराइको गरेको हकमा बसाइँ सराइको सक्कल कागजपत्र चाहिन्छ । राष्ट्रिय परिचयपत्र लिँदा पुनः जैविक विवरण चेकजाँच गरी वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता, राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गर्दाको सक्कली रसिद अनिवार्य लिएर प्रशासन कार्यालयमा आउनुपर्ने हुन्छ ।
प्रतिक्रिया राख्नुहोस्