एसइईको तयारी पुरा: ५ लाख १४ हजार ७१ परिक्षार्थी सहभागी हुँदै

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
यही चैत ७ गतेदेखि एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको बोर्डले जनाएको हो ।
त्यसको लागि प्रश्नपत्र उत्तरपुस्तिका लगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुर्याउने लगायतका सबै तयारी पुरा भइसकेको बोर्डले जनाएको हो ।
एसइइ परीक्षामा सामुदायिक र संस्थागत गरी ११ हजार २ सय १७ वटा विद्यालयहरूबाट पाँच लाख १४ हजार ७१ परिक्षार्थी सहभागि हुनेछन् । गतवर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थी सहभागी थिए । यसवर्षको परीक्षामा विद्यार्थीहरुको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेर पाँच लाख १४ हजार ७१ जना छन् ।
त्यसमा छात्रा २ लाख ५७ हजार ७३०, छात्र २ लाख ५६ हजार ३११ र अन्य ३० परीक्षार्थीहरु छन् । ति परिक्षार्थीहरुका लागि नेपालमा २ हजार ७९ र जापानमा एक गरी कुल २ हजार ८० परीक्षा केन्द्र तोकीएको छ ।परीक्षामा केन्द्रध्यक्ष,सहायक केन्द्रध्यक्ष, निरीक्षक, सहायक सहयोगी, कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७ हजार ८ सय १७ जना जनशक्ति प्रत्यक्ष रुपमा परीक्षा केन्द्रमा खटिनेछन्।
यो पल्टको एसइईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ । काठमाडौँ र दैलेखका दुई कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।
यस्तै, यसपाली कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुने भएका छन् । यहाँबाट चार जना एचआइभी सङ्क्रमित विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । बिहिबारबाट सुरु हुने परीक्षाका लागि परिक्षा केन्द्रहरु अन्तिम तयारीमा जुटेका छन् ।
परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषय, सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।
परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । परीक्षामा निषेध गरीएका कुनै पनि सामाग्री नलान र होहल्ला नगरीकन निर्धक्क भएर परीक्षा दिन पनि बोर्डले आग्रह गरेको छ । क्यामेराम सुरेन्द्र आचार्यको साथमा दुर्गा खड्का सार्वजनिक सेवा प्रसारण एनटिभी न्यूज काठमाण्डु ।
प्रतिक्रिया राख्नुहोस्