घ्याङ फेदी जलविद्युत आयोजना लगानी सम्झौता

–८४ मा व्यावसायिक उत्पादन

नुवाकोट –  प्रस्तावित नुवाकोटको घ्याङ फेदी जलविद्युत आयोजना संञ्चालनका लागि सम्झौता गरिएको छ । दुप्चेश्वर गाउँपालिका–१ ताँदीमा पौने दुई अव रुपैयाँ लागतमा निर्माण हुने सो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ ।
आयोजनाबाट आगामी २०८४ वैशाख मसान्तमा व्यावसायिक उत्पादनको लक्ष्य निर्माण पक्षको रहेको छ । कुल ८ मेगावाट जडित क्षमता भएको उक्त आयोजना एबीपी इनर्जी प्रा.लिले प्रवर्द्धन गरेको परियोजना हो ।

८ मेगावाट क्षमताको तादी घ्याङ फेदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । आयोजनामा सिद्धार्थ बैङ्कले एकल लगानी गर्ने भएको छ ।

वित्तीय व्यवस्थापन सम्झौतामा बुधवार द्विपक्षीय हस्ताक्षर भएको हो । सम्झौतामा आयोजनाको तर्फबाट एबीपी इनर्जी प्रा.लिका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैङ्कका तर्फबाट  क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार आयोजनामा बैङ्कले १ अर्ब २३ करोड ऋण लगानी गर्ने छ । आयोजनाको कुल लागत एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।

आयोजनाबाट उत्पादित बिजुली हिउँद याममा प्रति युनिट ८ रुपैयाँ ४० पैसा, तथा वर्षा याममा प्रति युनिट ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग पीपीए सम्झौता भइसकेको जनाइएको छ । प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ ।

सो जलविद्युत आयोजनाका लागि २२८१ दशमलव ३६ मिटर हेडरेस पाइप राखिनेछ । १६३२ दशमलव ०८ मिटर पेन स्टक पाइप निर्माण गरिनेछ ।

उत्पादित विद्युत् ३३ केभी सिङ्गल सर्किटको १० किमी प्रसारण लाइन निर्माण गरेर समुन्द्र टार सब स्टेसनमा जोडिनेछ । एबीपी इनर्जीको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका पदाधिकारीहरूसमेत रहनु भएको छ ।

कुल लागतको ७५ प्रतिशतले हुने १ अर्ब २३ करोड रुपैयाँ दीर्घकालीन ऋणबाट व्यवस्थापन गर्नका लागि सिद्धार्थ बैङ्कसँग सम्झौता भएको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी २५ प्रतिशत रकम भने स्वपुँजीबाट व्यवस्थापन गरिने छ ।
उक्त परियोजना अनुभवी प्रवर्द्धकहरूको समूहले विकास गरिरहेको अध्यक्ष श्रेष्ठको दाबी छ । नुवाकोटको दुप्चेश्वर गापामा रहेको तादी घ्याङ फेदी जलविद्युत आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्नुपर्ने मिति आगामी २०८४ साल वैशाख ३१ तय गरिएको छ । आयोजना सञ्चालनमा आइसकेपछि जलविद्युत पर्यटनबाट समेत आयोजनाले आम्दानी गर्ने लक्ष्य लिएको आयोजनाका निर्देशक बलराम खतिवडाको भनाई छ ।

नुवाकोट हुँदै गोसाईंकुण्ड जाने ट्रेकिङ रुटमा आयोजना निर्माण हुने हुँदा आयोजनाले बनाएका क्याम्प हाउस होमस्टेमा परिणत गरी पर्यटकलाई हस्पिटालिटी सुविधा दिन सकिने खतिवडाको भनाई छ । उक्त आयोजनाका लागि गत २०७८ साल  असार ३१ मा विद्युत् विकास विभागबाट उत्पादन अनुमति पत्र प्राप्त भएकोमा २०७८ साल भदौ २७ मा विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.