नारायणी अस्पतालको सिटी स्क्यान मेसिन बन्द हुँदा बाहिर महँगो शुल्क तिर्न बिरामी बाध्य

पर्सा- मधेस प्रदेशमै सबै भन्दा बढी बिरामीको चापहुँने वीरगन्जको नारायणी अस्पतालमा रहेको सिटी स्क्यान मिसिन दुई महिनादेखि बन्द हुँदा महँगो शुल्क तिरी बिरामी निजी अस्पतालहरूबाट सेवा लिन बाध्य भएका छन् । दैनिक हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको नारायणी अस्पतालमा रहेको सिटी स्क्यान मेसिन बिग्रिएपछि दोब्बरसम्म महँगो शुल्क तिरी बिरामी बाहिरबाट सेवा लिन बाध्य भएका छन् ।
शरीरमा रहेका भित्री अङ्गहरूको वास्तविक अवस्था हेरी बिरामीको रोग पत्ता लगाउन चिकित्सकले सिटी स्क्यान मेसिनको उपयोग गर्ने गर्दछन् ।
गरिब असहाय र न्युन आय भएका बिरामीलाई गुणस्तरीय उपचार सेवा प्रदान गर्ने भरपर्दो थलोको रूपमा रहेको नारायणी अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएपछि दैनिक १५ देख २० जना बिरामी बाहिरबाटै सेवा लिनु परेको छ ।
यसै विषयमा नारायणी अस्पतालका सूचना अधिकृत डा. उदयनारण सिंहसँग बुझ्दा उहाँले सिटी स्क्यान मेसिनको ट्युबमा समस्या देखिएपछि माघ महिनाको पहिलो सातादेखि सेवा बन्द भएको जानकारी दिनुभयो । उहाँले बिग्रिएको ट्युब नेपालमा खरिद गर्न नपाउने र विदेशबाटै मगाउनु पर्ने भएकाले चाहेर पनि सेवालाई चाँडै सुचारु गर्न नसकिएको बताउनुभयो।
अस्पतालमा रहेको सिटी स्क्यान मेसिन वारेन्टी समयमै रहेकाले आयात कर्तालाई सम्पर्कगर्दा उहाँले दुई साताभित्र आवस्यक उपकरण मगाइदिने प्रतिबद्धता व्यक्त गरेको अधिकृत सिंहले जानकारी दिनुभयो ।
बारा, पर्सा, रौतहट, सर्लाही र सिमावती भारतीय सहरहरूबाट दैनिक हजार भन्दा बढी बिरामी उपचारको लागि नारायणी अस्पतालमा आउने गर्दछन् । नारायणी अस्पतालको सिटी स्क्यान मेसिन बिग्रिएपछि त्याहा उपचार गराउन आउने बिरामीको समय र खर्च दुवै बढेको छ ।
बिरामीलाई सुपथ मूल्यमा गुणस्तरीय उपचार सेवा प्रदान गर्ने अस्पतालको दायित्व भएकाले हाल देखिएको समस्यालाई यथाशीघ्र सम्बोधन गर्न अस्पताल प्रशासनले पहलकदमी दिनुपर्ने जानकारहरूको भनाइ रहेको छ ।।
प्रतिक्रिया राख्नुहोस्