एसइई मा सात सय बढी कर्मचारी परिचालित

–पहिलो दिन १३ परीक्षार्थी अनुपस्थित

नुवाकोट-  यही चैत ७ गते बिहीबार देखी सुरु भएको माद्यामिक शिक्षा (एसइई) परीक्षामा  नुवाकोटको सम्पूर्ण केन्द्रमा पहिलो दिनको परीक्षा सम्पन्न भएको छ । पहिलो दिन नियमिततर्फ नुवाकोटमा १३ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

१२ स्थानीय तह रहेको नुवाकोटबाट यस वर्ष सवैसरि कुल ४ हजार ६ सय १५ जना परीक्षार्थीले एसइई परीक्षा दिने तयारी गरेकोमा पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परिक्षामा १३ जना परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ । पहिलो दिन प्राविधिकतर्फ पुरै अर्थात् दुई सय २६ र ग्रेड वृद्धितर्फ दुई सय १९ जना परीक्षार्थी सहभागी भएको कार्यालय प्रमुख रामचन्द्र इटनीको भनाई छ ।

उहाँका अनुसार यस वर्षको एसइई परीक्षामा नुवाकोटमा नियमिततर्फ तीन हजार ६ सय ७० र ग्रेड वृद्धितर्फ नौ सय ४५ जना  परीक्षार्थीले सहभागीताका लागि दर्ता भएका थिए ।  परीक्षाका लागि नुवाकोटमा २१ केन्द्रका लागि एक÷एक जना केन्द्राध्यक्ष, ३० जना सहायक केन्द्राध्यक्ष, दुई सय ३१ जना निरीक्षक, ४५ जना परीक्षा सहायक, ९५ जना कार्यालय सहयोगी, तीन सय १५ जना सुरक्षाकर्मीसमेत गरी सात सय ३७ जना कर्मचारी परिचालन गरिएको छ ।

एक सय ५० जना भन्दा बढी परीक्षार्थी भएको केन्द्रमा दुई जना सहायक केन्द्राध्यक्ष खटाइएको छ । २० जना परीक्षार्थी बराबर एक जना निरीक्षक र एक केन्द्रमा १५ जना सुरक्षाकर्मी परिचालन गरिएको कार्यालयले जनाएको छ ।

परीक्षामा नुवाकोटका एक सय ४९ विद्यालयका परीक्षार्थीहरू सहभागी भएका छन् । यस वर्ष ग्रेड वृद्धितर्फका परीक्षार्थी गत वर्षको तुलनामा धेरै भएको कारण यस वर्ष परीक्षार्थी बढेका छन् ।

गत वर्षको भन्दा यस वर्ष परीक्षार्थी बढेको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ । सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष चयन गरिएको छ ।

गत वर्ष नुवाकोटबाट नियमिततर्फ तीन हजार नौ सय २२ र ग्रेड वृद्धितर्फ ७८ जना  परीक्षार्थी मात्र सहभागी भएकोमा यस वर्ष ग्रेड वृद्धितर्फका परीक्षार्थी बढेको कार्यालयकी प्राविधिक सहायक सम्झना थपलियाले जानकारी दिइन् ।  एकदेखि तीन विषयसम्म अनुत्तीर्ण भएकाहरू ग्रेड वृद्धितर्फको परीक्षामा सहभागी हुने पाउनेछन् ।
परीक्षाका लागि २१ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । एक केन्द्र बराबर कुल दुई सय ५० जना परीक्षार्थी हुनु पर्ने मापदण्ड रहेको छ । केन्द्र तय गर्दा विद्यार्थीको सङ्ख्यालाई आधार बनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.