बसले किच्दा महिलाको ज्यान गयो

नुवाकोट- नुवाकोटको दक्षिणी भेगमा रहेको छापडाँडाँमा बसले किच्दा स्थानीय एक महिलाको ज्यान गएको छ । प्रहरीले गाडी र गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।
तारकेश्वर गाउँपालिका १ छापडाँडाँमा यात्रुबसले किचेर स्थानीय एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । काठमाडौँबाट नुवाकोटको बट्टार हुँदै लर्केपतर्फ जाँदै गरेको बा२ख ६८०४ नम्बरको यात्रु बसले किच्दा तारकेश्वर गापा १ की ३७ वर्षीय मञ्जु तामाङको ज्यान गएको प्रहरी निरीक्षक श्रीकृष्ण वानियाले जानकारी दिनुभयो ।
आफन्तको घेवामा गएर घर फर्कँदै गर्दा तारकेश्वर ५ निग्लेनीवाट सोही बसमा पति पत्नी यात्रा गरेको घर जाने बाटो आएपछि उनीहरू उत्रिने क्रममा घटना भएको स्थानीयवासीले जानकारी दिनुभयो । बसबाट ओर्लेर बसका सहचालकलाई भाडा तिरिरहेका पतिलाई कुर्ने क्रममा मञ्जुलाई बसको टायरले किचेको प्रहरीले जनाएको छ ।
बसले किचेपछि तामाङको खुट्टादेखि कम्मरसम्म गम्भीर चोट लागेको थियो । मृतक तामाङको शव त्रिशूली अस्पतालमा पोस्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइएको छ ।
मृतकका आफन्तले घटनाको दोषीलाई कारबाही गरिनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यसैबिच, बसधनी तथा बस समितिले मृतकका परिवारलाई कानुन अनुसार क्षतिपूर्ति दिने सहमति भएको छ ।
प्रतिक्रिया राख्नुहोस्