भूमि आयोगद्वारा नवलपरासीमा जग्गा नापजाँचको काम सुरु

नवलपरासी- भूमि समस्या समाधान आयोग पश्चिम नवलपरासीले जग्गाको नापजाँचको काम सुरु गरेको छ । प्रतापपुर गाउँपालिकाको वडा नम्बर-९ बाट प्राविधिक र केन्द्रबाट खटिएको विज्ञ सहितको टोलीले जग्गाको नापजाँच सुरु गरेको हो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दे आएकाहरुलाई जग्गा उपलब्ध गराउन आयोगले नापजाँच सुरु गरेको जनाएको छ ।

लामो समयदेखि बसोबास गर्दे आएका तर जग्गा धनीपुर्जा नभएका प्रतापपुरको बेलाटारी क्षेत्रबाट विज्ञसहितको प्राविधिक टोलीले नापजाँच सुरु गरेको भूमि समस्या समाधान आयोग नवलपरासीका अध्यक्ष लालबहादुर गुरुङले जानकारी दिनुभयो ।

प्रतापपुरमा एक महिनासम्म सबै वडामा नापजाँच सकेपछि अन्य स्थानीय तहमा पनि क्रमैसँग काम सुरु हुने आयोगले जनाएको छ । प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले भूमिहीनहरूलाई जग्गाको मालिक बनाउने काममा स्थानीय तहले सहयोग गर्ने बताउनुभयो ।

सात स्थानीय तह रहेको नवलपरासीमा पाल्हीनन्दन गाँउपालिका बाहेक अन्य स्थानीय तहमा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गरिरहेकाहरूको तथ्याङ्क यसअघिकै आयोगले सङ्कलन गरिसकेको छ ।

बर्दघाटमा सबैभन्दा बढि ७२ सय भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी रहेका छन् । यसैगरी सुनवलमा ६ हजार, रामग्राममा १५ सय ८३, सरावलमा २४ सय, सुस्तामा २३ सय र प्रतापपुरमा १६ सय ६८ अव्यवस्थित बसोवासी तथा भूमिहीन सुकुम्बासी रहेको तथ्याङ्क छ ।

पाल्हीनन्दन गाउँपालिकामा भने आयोगले सूचना आह्वान गरेपछि फारम भरेर तथ्याङ्क सङ्कलन गर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.