भक्तपुरमा खाना, नाना र छानाको व्यवस्थापन गर्न महायज्ञ हुने

भक्तपुर- अलपत्र तथा बेवारिसे अवस्थामा रहेका सडक मानवलाई खाना, नाना र छानाको व्यवस्थापन गर्न महायज्ञ आयोजना हुने भएको छ ।
गठ्ठाघरमा पत्रकार सम्मलेन आयोजना गरी मानव कल्याण समाजले यसबारे जानकारी दिएको हो । चैत्र २१ देखि २७ गतेसम्म मध्यपुर थिमी नगरपालिका ५ राधेराधेमा महायज्ञ हुने संयोजक गोपीकृष्ण न्यौपानेले बताउनु भयो ।
सामाजिक सेवाको पवित्र उद्देश्य राखेर गरिने महायज्ञमा संस्थाका संस्थापक अध्यक्ष देवी सुमी मानवले कथा वाचन गर्ने बताइएको छ ।
श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ नाम दिइएको उक्त महायज्ञमा सडक तथा सार्वजनिक स्थलहरूमा अलपत्र अवस्थामा रहेका मानवहरूको लागि प्रभावकारी सेवा दिने र यसका लागि जग्गा तथा भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ ।
२०७४ सालबाट संस्थाले बेवारिसे मानवहरूको उद्धार गर्दै आएको छ । झौखेलमा अस्थायी बासको व्यवस्था समेत गरिएको छ ।
बेवारिसे मानिसलाई चाउचाउ बिस्कुट तथा खाना पानी दिदै हालसम्म २१ सय बेवारिसे मानवको उद्धार गरी व्यवस्थापन गरिसकेको अध्यक्ष सुमी मानवले बताउनु भयो ।
भक्तपुर, काभ्रे, काठमाडौं, बारा र दाङमा शाखा कार्यालय स्थापना गरेर पाँच सय जनालाई आश्रय दिंदै आइरहेको उहाँको दावी छ ।
महायज्ञमार्फत सेवालाई थप प्रभावकारी बनाउने र दिगो व्यवस्थापनकालागि महायज्ञबाट संकलित सहयोग रकम तिनै असहाय सडक मानवहरूको लागि जग्गा खरिद तथा स्थायी आवास निर्माणमा प्रयोग गरिने जानकारी दिनुभयो ।
सडक मानव मुक्त गर्न हामी सबैको भूमिका महत्वपूर्ण हुने महायज्ञ समारोहका सहसंयोजक जुना बस्नेत, मधु ढुंगेल कोषाध्यक्ष नरेश रञ्जितले बताउनु भयो ।
चैत्र २१ गते बिहान ७ देखि महायज्ञ स्थलबाट शोभाकलश यात्रा हुनेछ भने समुद्घाटन २१ गते दिउँसो साँढे १२ बजे हुने सस्थाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्