काभ्रे-साँगा धुलिखेल सडकखण्ड विस्तारको काम सुस्त, ५८ प्रतिशत काम अझै बाँकी

काभ्रे- निर्माणाधीन अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेल सडक खण्ड बिस्तार कार्यले सोचे अनुरुप गति लिन सकेको छैन ।

निर्माणाधीन सडक अन्तर्गत साँगा-धुलिखेल सडक खण्डमा हालसम्म ४२ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जानकारी दिएको छ । अबको १० महिनाभित्र सडक निर्माणको ५८ प्रतिशत काम सक्नु पर्नेछ ।

कुल १५.८ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर यसको काम भइरहेको छ । जसमध्ये एउटा खण्ड हो, साँगादेखि धुलिखेल खण्ड‘ जुन खण्डको दूरी ८.३ किमि छ ।

उक्त खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले २०७९ मंसिर २७ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो । भौतिक प्रगति ४२ प्रतिशत छ । यस खण्डको म्याद २०८२ मंसिर २७ सम्म रहेको आयोजनाका इन्जिनियर खनालले बताउनुभयो ।

साँगादेखि धुलिखेल खण्डमा ‘स्ट्रक्चर’ निर्माणको काम भइरहेको सूर्यविनायक–धुलिखेल सडक आयोजनाले जानकारी दिएको छ । उक्त खण्डको एक कि.मि.मा कालोपत्रको काम भइरहेको छ ।

अहिले भइरहेको निर्माण गति हेर्दा उक्त समयभित्र काम सकिने छाँट देखिँदैन । कम्पनीका अनुसार, अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ ।

राजमार्गको विभिन्न स्थानमा खानेपानीको पाइप लाइन, ढल निकास, बिजुलीका तार स्थान्तरण लगायतका विविध कठिनाई पनि रहेको उहाँले बताउनुभयो ।

निर्माण कम्पनीका अनुसार, राजमार्ग अन्तर्गत साँगादेखि धुलिखेलसम्म ११ वटा घर भत्काउनुपर्ने देखिएको छ, जसको हालसम्म कुनै प्रक्रिया अघि बढेको छैन ।

निर्माणाधीन सडक बिस्तार कार्य समयमै सम्पन्न नहुने भएपछि स्थानीय एवं राजमार्ग प्रयोगकर्ताहरुमा निराशा छाएको छ । सुक्खायाम सुरुभएसँगै राजमार्गमा भइरहेको निर्माण कार्यबाट हुने धुँवाधुलोका कारण उनीहरु आजित भएका छन् । निर्धारित समयमै सडक बिस्तार कार्य सम्पन्न उनीहरुको माग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.