सडक बन्न नसक्दा नेपाल-चीन फलाक नाकाबाट हुने कारोबार नै बन्द

दोलखा- दोलखाको लामाबगर-लप्ची फलाक नाकाबीचको सडक निर्माण नहुँदा सो नाकाबाट हुने नेपाल-चीनबीचको व्यापार कारोवार नै रोकिएको छ ।

चीन, नेपाल र भारत जोड्ने छोटो सडक मार्गका रुपमा चर्चा पाउँदै आएको दोलखाको लामाबगर-लप्ची फलाक नाका सडक निर्माणका लागि स्थानीयले पटक पटक सरकारसँग माग गर्दासमेत निर्माण हुन नसकेपछि नेपाल-चीनबीचको व्यापार कारोवार नै रोकिएको हो ।

चीन सरकारले तिब्बतसँग जोडिएको लप्ची फलाक नाका खोलेपनि सडक सञ्जाल नहुँदा व्यापारिक कारोवार भने हुन नसकेको स्थानीय बताउँछन । यो नाका नेपाल, भारत र चीनको उत्तर दक्षिण जोड्ने छोटो साझा नाकाको रुपमा रहेको छ ।

दोलखादेखि सिंगटीसम्मको सडक स्तरोन्तनी र सिंगटीदेखि लामाबगरसम्मको सडक निर्माणको सम्पूर्ण काम माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले गरेको छ भने लामाबगरभन्दा माथिल्लो क्षेत्रमा पनि अन्य जलविद्युत आयोजनाहरुले नै सडक निर्माण गरिरहेका छन् ।

लामाबगरदेखि थाम्चेम्बुसम्म २० किलोमिटर सडक खण्डमा कठिन भीर र सुरुङमार्ग रहेका छन् ।

११ मिटर सुरुङमार्गसहित खराने खोला हुँदै हाल हुरहुरेसम्म गाडीमा जान सकिन्छ । तर त्यसभन्दा माथि अर्को कठिन भीर हुरहुरेमा सडक निर्माणको काम पनि जलविद्युत आयोजनाहरुले गरिरहेका छन् ।

उक्त सडक र नाकाको भौगोलिक अवस्था अध्ययन र अवलोकन गर्न काँग्रेस दोलखाका सभापति बर्मा लामा र एमालेका नेता पार्वत गुरुङलगायत स्थानीय जनप्रतिनिधि र सडक बिभाग प्रतिनिधिले सो क्षेत्रको अवलोकन गरेका छन ।

काँग्रेस दोलखाका सभापति बर्मा लामाले धार्मिक पर्यटकका साथै दुई देशबीचको व्यापारिक सम्बन्ध थप स्थापित गर्नका लागि सडक निर्माणका लागि पहल गरिएको बताउनुभयो ।

हुरहुरेमा पक्की पुल निर्माण करिव दुइ किलोमिटर ट्रयाक खोल्न सके अस्थायी रुपमा लप्ची फलाक नाका जोड्न सकिने एमाले नेता गुरुङले बताउनुभयो ।

त्यस्तै सडक डिभिजन, चरिकोटका डिभिजन प्रमुख अमित कुमार श्रेष्ठले हुरहुरेको कठिन भीर काटेर त्यसक्षेत्रमा पुल निर्माण गर्न सके बाँकी सडक निर्माण गर्न सहज हुने र सडकमार्ग हुँदै नाकासम्म पुग्न सकिने भएकाले त्यसको निरिक्षण गरिएको जानकारी दिनुभयो ।

फलाक नाकासम्म सडक बिस्तार हुँदा दुई देशबीचको व्यापार बिस्तारले मुलुकको अर्थतन्त्रको विकासमासमेत ठूलो टेवापुग्न सक्ने सो क्षेत्रका जनप्रतिनिधिहरुको विश्वास छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.