पर्वतमा ४१ जना क्षयरोगका बिरामी भेटिए

पर्वत-  आज अन्तर्राष्ट्रिय क्षयरोग दिवस । नेपालमा पनि ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने मुख्य नारालाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रम गरी मनाइदैछ । पर्वतमा पनि विभिन्न स्थानीय तहले समुदाय स्तरमा यो दिवस विविध कार्यक्रमका साथ मनाइरहेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार पर्वत जिल्लामा ४१ जना क्षयरोगका बिरामीहरू पत्ता लागेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका क्षयरोग फोकल पर्सन नारायण रेग्मीका अनुसार पर्वतमा ६५ वर्ष उमेर समूह माथिका ४१ जनामा क्षयरोग देखिएको र नियमित औषधी सेवन गरिरहेको बताउनुभयो । बिरामीको प्रकृति अनुसार न्यूनतम ६ महिना सम्म नछुटाई औषधी सेवन गरेमा क्षयरोग निको हुन्छ । पर्वतका सात स्थानीय तह मध्ये सबै भन्दा धेरै १६ जना पैयुँ गाउँपालिकामा क्षयरोगका बिरामी भेटिएका छन् । यही अवस्थालाई मध्य नजर गर्दै कार्यालयले पैयुँ गाउँपालिकाको समन्वयमा स्थानीय स्तरमा क्षयरोग सम्बन्धी निःशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरेको छ ।

रेग्मीका अनुसार रोग पत्ता लागेका बिरामीहरू नियमित रूपमा स्वास्थ्य संस्थाबाट औषधी सेवन गरिरहेको भए पनि कतिपय बिरामीहरू विविध कारण देखाएर परीक्षण गर्न नमान्ने र रोग लुकाएर बस्ने अवस्थाले गर्दा समस्या उत्पन्न भएको छ । उहाँले रोग पत्ता लगाउन र निवारणको चरणमा पुर्‍याउनका लागि प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले विभिन्न सामुदायिक सचेतना तथा स्क्रिनिङ शिविरहरू सञ्चालन गर्दै आएको बताउनुभयो । पैयुँ गाउँपालिकाले क्षयरोगका बिरामीलाई नियमित औषधी उपचार सँगै मासिक १ हजारका दरले ६ महिना सम्म पोषण भत्ता दिने गरेको पैयू स्वास्थ्य शाखा प्रमुख देवीप्रसाद भुर्तेलले बताउनुभयो ।

जनस्वास्थ्य कार्यालय पर्वतले दिएको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष क्षयरोगका बिरामीको सङ्ख्यामा कमी भएको देखिन्छ । आर्थिक वर्ष २०८०।८१ मा ७२ जना क्षयरोगका बिरामी पत्ता लागेका थिए भने यो वर्षको चैत्र सम्म ४१ जना बिरामीहरू भेटिएका हुन् । बिरामीको सङ्ख्या घट्नुको कारण परीक्षण कम भएर पनि हुन सक्ने भन्दै जनस्वास्थ्य कार्यालय पर्वतले विभिन्न स्थानीय तह सँग समन्वय गरी परीक्षणको दायरा बढाउन अनुरोध गरिएको कार्यालयका प्रमुख बद्रीराज आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.