कविता: जमाना मोबाइलको

बात्ती कातेर नदुखेको हात मेरी हजुरआमाको,
आजभोलि मोबाइल चलाएर दुख्न थालेको छ रे !
बारीमा खुब तरकारी फल्थे आमाको मेरो,
आजभोलि कन्टेन्ट बिनाको उहाँको टिकटक चलेको छ रे ।।
फिट हुनुपर्छ भन्ने काका मेरो अचेल,
भुँडी माथि मोबाइल राखी स्क्रोल गर्ने गेम खेल्नुहुन्छ,
मोबाइलले संसार बिगार्यो भन्ने बुबा मेरो,
साथीभाइ सँगको भलाकुसारी छोडेर दिनभरि मोबाइल नै हेर्नुहुन्छ ।।
हजुरबुवा र आमा घर वरपर डुल्नु हुन्थ्यो, छरछिमेक तिर चाहर्नुहुन्थ्यो,
तर आजभोलि मोबाइल चलाउने बानी परेछ ।
स्वस्थ हुनुहुन्थ्यो साह्रै तन्दुरुस्त पनि,
तर आजभोलि प्रेसर र सुगर का साथै वजन बढेछ ।।
चोक चोकमा क्यारम र बागचाल खेल्ने जमातहरू
बरु खेल र गफमै भुले हुने,
उफ्रिने दौडने कुद्ने दिन गएछन् केटाकेटी पनि,
मोबाइल थिच्न पनि नपर्ने औँलाको खेल भयो नि।
मोबाइले जमानाकी आमा परे म सजिलो भाको छ,
राम्रो होस या नराम्रो सिकाउनलाई म मेरो बच्चाको हातमा मोबाइल थमाइ दिन्छु ।
हातैले कोखाई भनेर कथा भन्दै खुवाउने दिन गए छन् बरै,
बच्चाले खाना खाँदा म बरु ट्याब्लेट र मोबाइल समाइदिन्छु ।।
सानी बच्ची मेरो भन्दी रैछ मसँग खेलन ममी बाबा,
के हो यो मोबाइल भन्ने, झुण्डिने सबै यसमा, मसँग नखेली क न
हामी त हाम्रो दुनियाँमा मस्त छौं छोरी खै के चिज रहेछ यो ?
फिटिक्कै बस्न सक्दैनौं यो मोबाइल बिना ।।
बच्चीले नि बुझ्नथालीन, त्यही भएर उसलाई चाहियो मोबाइल
ठ्याक्कै हामीले चलाए जसरी चलाउन,
सानो छ परिवार हाम्रो सबैसँग मोबाइल भइदियो
र हामी थाल्यो मोबाइलमै रमाउन ।।
खानालाई ढोगेर परिवार एकजुट भई
एक अर्काको गफ बाँड्ने संस्कार हाम्रो कता मोडिदैछ ?
मोबाइललाई खाना चढाउन थालेका छौं, स्क्रोल सँगै गाँस नील्छौ,
ति स्क्रोल सँगै स–साना खुसी हाम्रा खै कता छोडिँदै छ ?
लाइक भ्यूज पायो खाना सेलायो
मस्त हामी सेल्फीको क्लिकमा त्यसै ,
सेलफिस र आइसोलेट बनेका छौं
हामी सामाजिक सञ्जाल हो कि जन्जालमा भुलेर यसै ।।
संवाद खासै गर्न पर्दैन हामीलाई,
लाइक भ्यूज कमेन्ट र रियाक्सनमा बोल्ने बानी परेकै हो त?
कहाँ छौ के गर्दैछौ अत्तोपत्तो छैन हामीलाई
यी साना साना पल हाम्रो हातबाट फुस्किँदैछ नि होइन र ?
सामाजिक प्राणी भए नि हामी, आजभोलि एकलकाटे भैदिएको छौ कि यो सामाजिक सञ्जालसँगै,
कुन दिशातिर जाँदैछ हाम्रो समाज हेरौं न यो डिजिटल विकास भन्दै।।
संसार जब आखाँ अगाडी आइदिन्छ
कहाँ जान्छ र मन राम्रो हेर्न र सुन्न
राम्रा कुराको तारिफ गर्न फिटिक्कै आउँदैन हामीलाई
पछि पर्दैनौं मोबाइल नै खराब हो भन्न ।।
संसारको एक कुनादेखि अर्को कुनामा हुने प्रिय मान्छेको भेट गराएको छ,
विज्ञान कहाँ पुगिसकेको छ, यहाँ त संसार सबै हातैमा अटाएको छ।।
लुकेका ती कयौं प्रतिभाहरुले सजिलै प्रस्तुत हुने माध्यम भेटाएका छन्,
पसल खोल्नु पर्दैन आजभोलि मोबाइलबाट लाखौंले सामान बिकाएका छन् र कमाएका पनि छन्।।
साना हुन या ठूला, सामाजिक, आर्थिक र राजनीतिक मुद्दाहरू
मोबाइले सूचनाले समयमै मिलाएको छ।
नियम कानून लागु गराउन होस, चेतना ल्याउन होस,
मोबाइलले ठुलै सामाजिक क्रान्ति ल्याएको छ ।।
न जानेको सीप होस्, भाषा होस् या ठाउं होस् ,
या नजानेका कुनै विषयको उत्तर सोध्नुस मोबाइलले तु का तु भनिदिन्छ
खासै दिमाग खियाउनै पर्दैन आजभोलि
यहाँ त जे कुराको पनि कन्टेन्ट बनिदिन्छ ।।
प्राइभेसी डिगनिटिका कुरा धेरै उठ्छन आजभोलि,
कता छ प्राइभेसी? यहाँ त पब्लिसिटीको जमाना चल्या छ।
सानातिना झगडा घरमै मिल्दैनन,
आजभोलि यहाँ त अरुका घर झगडा पनि मोबाइलमा हेर्ने बानी पर्याछ ।।
माइलौं माइल दौडिन्छ हाम्रा हाते स्क्रोलहरु,
सेकेण्ड सेकेण्डमा, अरुलाइ आफूसंग दाज्न जब मोबाइलले शुरु गर्यो,
ब्ल्याकमेलिङ, अब्युस्ज, बडीसेमीङ त छँदैछ,
रिसर्च भन्छ हाते सूचना भित्रिएपछि एक्लोपन र स्ट्रेस र सुसाइड त सामान्य बन्यो ।।
जमाना होइन, यहाँ त कालै फेरिएको रहेछ
सबै हाते सूचना लिनमै व्यस्त र मस्त,
रफ्तारएको यो डिजिटल विकाससँगै,
बढ्दैछन सम्हाल्न नसकिने साइबर क्राइमहरु प्रशस्त ।।
जेन जी र ए आई. को युगमा पाईला टेक्दै गर्दा
कति केटाकेटीलाई मात्रै मोबाइल चलाएको भनेर दोष दिन्छौं हामी,
के थाहा उहिलेको पालामा मोबाइल बनेको भए
झुन्डिन्थियौँ होला हामी पनि मोबाइलमा अहिले चौबिसै घण्टा झुण्डिए जसरी ।।
भर्चुअल क्लास ले पनि धेरै सिकाउन थाल्यो
साइडमा ल्यापटप मोबाइल बिना त पढ्नसमेत गाह्रो हुने जमाना आयो,
धेरै कुरा सिकाउँदै गर्दा
ओहो यो मोबाइलले हामीलाई मोबाइल नै मिसयुज गर्ने बानी सिकायो ।।
डिजिटल विकासले जीवन सरल बनाएकै हो
तर पनि यही विकासले हामीलाई लाचार र सिकिस्त बनाउन थाल्यो,
सम्बन्ध, संवाद, भोक, निन्द्रा, प्यास, हाँसो, आँशु, माया, पीडा, सारा भावना यसमै अटाउन लागे,
अपसोच,हामीले मोबाइल होइन, मोबाइलले हामीलाई चलाउन थाल्यो ।।
रोशनी खड्का प्याकुरेल- हाल–मेलबर्न भिक्टोरिया, अस्ट्रेलिया बस्नुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्