गृहमन्त्री लेखकद्वारा भक्तपुर दमकलको नयाँ भवन उद्घाटन

भक्तपुर – गृहमन्त्री रमेश लेखकले भक्तपुरको दुधपाटीस्थित जुद्ध वारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भवनको उद्घाटन गर्नु भएको छ । आज एक भव्य समारोहकाबीच मन्त्री लेखकले उद्घाटन गर्नु भएको हो ।
नेपाली सेनाको जग्गा लिजमा लिएर सञ्चालनमा रहेको वारुण यन्त्रका लागि चाहिने आवश्यक जग्गा उपलब्ध गराउन गृह मन्त्रालय सकारात्मक रहेको र त्यसका लागि सहयोग गर्न तयार रहेको बताउनु भयो । काम नलाग्ने अवस्थामा रहेका दमकललाई म्युजियमा रुपान्त्रण गर्न निर्देशन दिँदै मन्त्री लेखकले विपद्मा दमकलले पुर्याएको सेवाको प्रशंसा गर्नु भयो ।
मन्त्री लेखकले भन्नुभयो, ‘सरकारका दुईटा अङ्ग नेपाली सेनाका नाममा जग्गा छ । वारुण यन्त्र पनि नेपाल सरकारकै भएकाले सरकारी कार्यको सहजै कुरा मिल्ने छ । दाइने हातले दिएको सामान देब्रे हातमा दिएको जस्तै हो । यसको पूर्वाधार विस्तारमा गृह मन्त्रालयले सहयोग गर्छ ।’ नेपालको पहिलो दमकल सेवा जुद्ध वारुणयन्त्र कार्यालय हो ।
आफ्नै जग्गामा नभएर लिजमा सञ्चालन भइरहेको यो कार्यालय अहिले नयाँ भवन सञ्चालनमा आएसँगै सेवा दिन कुनै कन्जुस्याइँ नरहेको कार्यालय प्रमुख विजय धौभडेलले बताउनु भयो ।
नवनिर्मित कार्यालय भवनबारे जानकारी दिँदै उहाँले जग्गाका लागि मन्त्री लेखकलाई अनुरोध गर्नु भयो । कार्यक्रममा सांसद दुर्लभ थापा, गृह सचिव गोकर्णमणि सुवेदीलगायतले वारुण यन्त्रले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नु भयो । तत्कालीन राणा शासनकालमा जुद्ध शमशेर राणाले आफ्नै नाममा १०९४ सालमा स्थापना गरेको यो वारुण यन्त्र २००१ सालमा स्थापना गरिएको थियो । राणाकलामा अग्नि नियन्त्रणका लागि स्थापना गरिएको अझै पनि सेवाकालीन रूपमै रहेको छ । गृह मन्त्रालय मातहत रहेको यस कार्यालयले हरदम सेवा दिँदै आएको छ ।
सूर्य विनायक नगरपालिका, मध्यपुरथिमी नगरपालिका, चाँगुनारायण नगरपालिकाले दमकलको मर्मत सम्भारमा लाग्ने आवश्यक इन्धनको समेत व्यवस्था गर्दै आएको छ । तीन रोपनी सात आना क्षेत्रफलमा भवन निर्माण गरेर सञ्चालनमा रहेको जुद्ध वारुणयन्त्र बल्ल सुविधा सम्पन्न भवनबाट सञ्चालन भएको छ । जीर्ण र पुरानो भवनमा समय व्यतीत गर्दै आएको जुद्ध वारुणयन्त्र सुविधा सम्पन्न भवनमा आएसँगै जस्तोसुकै कठिन परिस्थितिमा पनि सेवा दिनमा कुनै कमी हुन नदिए प्रतिबद्धता जनाएको छ । जग्गाका निम्ति नेपाली सेनासँग पटक पटक छलफल र सहमति हुँदै आएको प्रमुख श्रेष्ठले बताउनु भयो । ५० वर्षका लागि जग्गा लिजमा लिएर नेपाल सरकार सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजना बबरमहल काठमाडौँले २०७७ साउन ६ गते ठेक्का सम्झौता गरी भवन निर्माण थालेको थियो । कूल रु पाँच करोड ७६ लाख ९८ हजार ६ सय ५८ रुपैयाँ ७७ पैसाको लागतमा निर्माण सम्पन्न भएको भवन २०८१ कात्तिक १ गते कार्यालयलाई हस्तान्तरण गरेको थियो । नयाँ भवनबाट कार्यालय सञ्चालनमा आएपछि आज मन्त्री लेखकले उद्घाटनगरेपछि स्थानीयवासी पनि खुसी भएका छन् ।
कार्यालय अगाडि रहेको डज दमकल अहिले नचल्ने अवस्थामा छ । २०२४ सालमा बेलायत सरकारले उपलब्ध गराएको डेनिस गाडी भने मर्मत गरेर चलाउन सकिने अवस्थामा रहेको छ । २०३६ सालमा तत्कालीन सरकारले उपलब्ध गराएको म्याग्रस गाडीको इन्जिन फेरेर चलाउन सकिने अवस्थामा रहेको कार्यालय प्रमुख धौभडेको भनाइ छ । पुराना र नबने अवस्थामा थन्किएका दमकललाई सङ्ग्रहालयको विकास गरेर राख्न मन्त्रीको निर्देशनपछि कार्यालय त्यसैमा जोड दिने भएको छ । भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक हुँदै तातोपानीसम्म वारुण यन्त्रले सेवा दिँदै आएको छ । ३२ दरबन्दी रहेको कार्यालयमा हाल १५ जना फायर म्यान, चार जना भारी सवारी चालक, दुई जना हबलदार र दुई जना क्लिफर, एक नासु, एक खरिदार, एक सहायक कम्प्युटर अपरेटर, एक सह लेखापाल र तीन जना कार्यालय सहयोगी रहेका छन् । २३ जना करार सेवाका कर्मचारीले सेवा दिँदै आएका छन् । कार्यालयले आगलागी नियन्त्रण लगायत विभिन्न तालिमसमेत दिँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्