खेर गएको जङ्गलमा अदुवा लगाउन कस्सिए हरिनासका २० घर

स्याङ्जा – गाउँघरमा शिक्षा स्वास्थ्य र रोजगारीको अभाव हुँदा अधिकांश बस्तीहरू रित्तिएका छन् । खेतीयोग्य जमिन जङ्गलमा परिणत भएको छ । यस्तै जङ्गलमा परिणत भएको १४० रोपनी जग्गा हरिनास गाउँपालिका राम्चेका २० घरधुरीले सदुपयोगमा ल्याएका छन् ।
अहिले राम्चेको रोदीवारि जङ्गलमा २० घर परिवारले सामूहिक अदुवा तथा बेसार लगाउन थालेका छन् । बिहानको खाना सँगै खाने , दिउसोभर कृषि कर्म गर्ने , नजानेका युवा पुस्तालाई सिप सिकाउने थलो बनेको छ , रोदीबरि जङ्गल ।
हरिनास गाउँपालिका ४ राम्चेका २० घरधुरीले यसरी नै सामूहिक खाना खान थालेको २ महिना भयो । उनीहरू खाना मात्रै सँगै खाएका छैनन् उत्पादन पनि सँगै गर्न १४० रोपनी जमिनमा सामूहिक अदुवा रोप्न थालेका छन् ।
त्यसै खेरको रोदीवारि जङ्गललाई सफा गरेर मसला बालीको रूपमा अदुवा तथा बेसार लगाउन २० घर मिलेर अर्ग्यानिक कृषि फर्म सञ्चालन गरेका हुन् । यस्ता किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकाले १२ लाख सहयोग र कृषि सडकको सञ्जालसँग जोडिदिएपछि बाँझो जमिनको सदुपयोग हुन थालेको छ ।
रोदी बरी जङ्गलमा अहिले कृषि उद्यम मात्र भएको छैन पुराना पुस्ताले नयाँ पुस्तालाई सिप सिकाउने थलो पनि बनेको छ । विदेशबाट फर्किएका युवाहरूलाई पुराना पुस्ताले डोको , नाम्लो बुन्न त्यही सिकाउने गर्दछन् र उत्पादनलाई पनि सदुपयोग गर्ने गरेका छन् ।
बाँदर आतङ्कबाट पनि मुक्ति पाइने र प्रतिफल पनि राम्रो आउने भएपछि उनीहरू सामूहिक मेहनत गर्न अग्रसर भएका हुन् ।
अहिले स्याङ्जा जिल्लामा सामूहिक कृषि खेती गर्ने र उत्पादनसँग जोडिने युवा पुस्ताको सङ्ख्या बढ्दो छ । यद्यपि सहुलियत कृषि कर्जामा बैङ्क तथा वित्तीय संस्थाले कृषकलाई हेर्ने दृष्टिकोण र उत्पादनको बजार ग्यारेन्टी नहुने समस्याले कहिलेकाहीँ किसानहरू निराश हुन बाध्य छन् ।
सरकारले उत्पादनमा आधारित अनुदान , सहुलियत कृषि कर्जा र बजारको ग्यारेन्टी गर्ने नीतिलाई प्राथमिकतामा राख्न सके कृषकहरूको आकर्षण स्वदेशमै हुने किसानहरूको धारणा छ ।
सुशील सुवेदी नेपाल टेलिभिजन गण्डकी प्रदेश स्याङ्जा
प्रतिक्रिया राख्नुहोस्