मर्चवारी–५ मा आगलागी हुँदा पाँचकठ्ठाको गहुँबाली जलेर नष्ट

रूपन्देही– रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ स्थित इस्लामपुरमा आगलागी भएको छ । बुधबार दिउँसो भएको आगलागीले पाँचकठ्ठा गहुँबाली जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।
आगलागीको कारण प्रथम अनुसन्धानमा खुल्न नसकेको ईलाका प्रहरी कार्यालय मर्चवारका कार्यालय प्रमुख प्रहरी निरीक्षक घनदेव साउदले जानकारी दिनुभयो।
प्रहरी निरीक्षक साउदका अनुसार मर्चवारी गाउँपालिका–३ का सन्तराम मौर्य, मन्तराम यादव, बलिराम यादव, ज प्रकाश बरई, नन्द पासी र रवि पासीको खेतमा आगोले गहुँबाली क्षति भएको छ ।
आगो लागेपछि समयमा दमकल नआउँदा स्थानीले स्थानीय स्रोतसाधनको प्रयोग गरी आगो नियन्त्रण गरेको स्थानीय युवा गोपाल मौर्यले बताउनु भयो । उहाँले भन्नुभयो–‘आगो लागेको हल्ला सुनेपछि गाउँबाट मानिसहरु खेतमा दोडी हरियो हाँगासहितको स्थानीय स्रोतसाधनको प्रयोग गरी आगो नियन्त्रण गरेका हुन् ।’
मर्चवारमा बारुणयन्त्र (दमकल) छैन । आगलागिपछि भैरहवा, लुम्बिनी, बुटवल क्षेत्रका दमकलकै आसमा बस्नुपर्ने हुन्छ । यस वर्ष लुम्बिनी प्रदेश सरकारले वारुणयन्त्रको लागि बजेट बिनियोजन गरेपछि हालसम्म बारुणयन्त्र खरिद हुन सकेको छैन । अहिले मर्चवारमा दमकल नहुँदा लिएर स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिहरुको चर्को आलोचना भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्