भेप सहित युवक पक्राउ
–भन्सार छलिका सामान जफत

नुवाकोट- नेपाल–चीन प्रवेशको लागि छोटो दुरीको रसुवागढीमा भेप सहित एक युवक पक्राउ परेका छन् । भन्सार छलिएका पौने तीन लाख रुपैयाँको सामान जफत गरिएको छ ।
गोसाईंकुण्ड गाउँपालिका २ रसुवागढी नाकास्थित इलाका प्रहरी कार्यालय टिमुरे तथा प्रहरी चौकी रसुवागढीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा छिमेकी राष्ट्र चीनबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भेप सहित एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका ३ गत्लाङका ३१ वर्षीय शेखर तामाङले २ वटा थर्मस र थर्मसको काट्नभित्र लुकाई छिपाई अवैध तरिकाले ल्याएको २४ थान भेप फेला पारी तामाङसहित पक्राउ गरी आवश्यक अनुसन्धानको लागी रसुवा भन्सार कार्यालय टिमुरे रसुवामा बुझाइएको रसुवा प्रहरीले जनाएको छ ।
यसैवीच, पौने तीन लाख रुपैयाँ बराबरको भन्सार छलीको विभिन्न सामान जफत गरिएको छ । सामान भन्सार कार्यालय बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवा तथा मातहत प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले टिमुरेबाट काठमाडौँतर्फ जाँदै गरेको सवारी साधनहरूलाई नियमित चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याएका बिल बिजक नभएको जुत्ता, सस र तयारी सुरुवाल जफत गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानहरू कुल दुई लाख ६१ हजार ६० रुपैयाँ बराबरको रहेको छ भने जफत गरिएका सामानहरूलाई कानुन बमोजिम बरामद गरी आवश्यक कारबाहीको लागी रसुवा भन्सार कार्यालय टिमुरे रसुवामा बुझाइएको रसुवा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्