‘मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रम सञ्चालन

हुम्ला- जिल्लाको दक्षिणी भेगमा मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्लाका पाँच वटा गाउँपालिकामा यही चैत १२ गतेदेखि उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
खार्पुनाथ गाउँपालिका, सर्केगाड गाउँपालिका, चङ्खेली गाउँपालिका र ताजाकोट गाउँपालिकामा च्याउ र तरकारीखेतीसम्बन्धी सात दिने तालिम सञ्चालन गरिएको आयोजक उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ ।
सिमकोट गाउँपालिकामा रातो कम्बल बनाउने ६० दिने तालिम सञ्चालन गरिएको छ । उक्त तालिमको उद्घाटन सिमकोट गाउँपालिकाका अध्यक्ष्य विजय भण्डारीले गर्नुभयो । रातो कम्बल बनाउने तालिम लिन जिल्लाभरिका १२ जनाको सहभागिता रहेको कार्यालयका कम्प्युटर अपरेटर सरस्वती भण्डारीले जानकारी दिनुभयो ।
उहाँले यहाँका स्थानीयको आर्थिकस्तर सुधार गर्दै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले कर्णाली प्रदेशमा मुख्यमन्त्री दलित आयआर्जनको कार्यक्रम सञ्चालन गर्न थालिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्