नेपाललाई थप ४ घण्टा विद्युत् आपूर्ति गर्न भारत सहमत
लोडसेडिङको सम्भावना टर्यो

काठमाडौँ – भारतले नेपाललाई थप ४ घण्टा विद्युत् आपूर्ति गर्ने सहमति जनाएको छ । ऊर्जा तथा परराष्ट्र तहको कूटनीतिक पहलपछि इन्डियन इनर्जी एक्सचेन्जमार्फत ६०० मेगावाट विद्युत् उपलब्ध गराउने स्वीकृति भारतले दिएको हो ।
विद्युत् आपूर्तिको लागि ढल्केर-मुजफ्फरपुर प्रसारण लाइन प्रयोग गरिनेछ । हालसम्म भारतले सोलर आवरमा १,०४ मेगावाट विद्युत् प्रदान गरिरहेको थियो, जसलाई थप वृद्धि गरी नयाँ समय तालिका लागू गर्ने तयारी गरिएको छ ।
नयाँ व्यवस्था अनुसार मध्यरातदेखि बिहान ४ बजेसम्म, बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म, र राति ११ बजेदेखि १२ बजेसम्म विद्युत् उपलब्ध हुनेछ । साथै, टनकपुर-महेन्द्रनगर प्रसारण लाइनमार्फत थप ५४ मेगावाट विद्युत् आयात गर्न सकिने बताइएको छ ।
सुख्खा याममा विद्युत् अभाव हुन नदिन सरकारले भारतसँग अतिरिक्त आपूर्तिको माग गरेको थियो। पछिल्लो सहमतिले नेपालमा लोडसेडिङको सम्भावना टरेको छ ।
हालै नेपाल विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशकको नियुक्ति सँगै लोडसेडिङबारे विभिन्न अडकलहरू चलेका थिए, तर भारतबाट थप विद्युत् आपूर्ति सुनिश्चित भएसँगै यी अडकलहरू निराधार देखिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्