जल्पाको सकिनेमा खेलकुदसँगै विविध सांस्कृतिक मेला २०८१ सञ्चालन हुने

पाल्पा- नयाँ वर्षमा पाल्पाको पूर्व खोला गाउँपालिका २ जल्पा, सकिनेमा खेलकुदसँगै विविध सांस्कृतिक मेला २०८१ सञ्चालन हुने भएको छ ।
कृषि पर्यटन, खेलकुदसँगै स्थानीय कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था समाज सुधार युवा क्लबले जनाएको छ ।
यही चैत्र २५ गते देखि वैशाख १ गते सम्म सञ्चालन हुने कार्यक्रममा पुरुष, महिला, ४० वर्षदेखि माथिको भूपू भलिबल प्रतियोगितासँगै राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने र स्थानीय स्तरमा लोपोन्मुख अवस्थामा रहेका स्थानीय कला संस्कृतिहरूको प्रदर्शन रहने क्लबका अध्यक्ष छवि सारुले जानकारी दिनुभयो ।
मेलाले खेलकुद तथा पर्यटन क्षेत्रको विकाससँगै स्थानीय स्तरमा हराउँदै गएको स्थानीय कला संस्कृति संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने क्लबका सचिव लाल बहादुर रानाले बताउनुभयो ।
मेलामा स्थानीय स्तरमा उत्पादित बन तरुल, सकर खण्डका परिकार, मकै, कोदो, गहुँ लगायतका परिकारहरूको बिक्री वितरण समेत हुने रानाले जानकारी दिनुभयो ।
पुरुष भलिबल खेल तर्फ प्रथम, द्वितीय र तृतीय विजेता समूहले क्रमशः रु. ४०४४४, रु. २५,२२२ रु. १५,१११ र ट्रफि, मेडल, प्रमाणपत्र पाउने छन् ।
महिला तर्फ प्रथम, द्वितीय र तृतीय विजेताले रु. ५०००, रु.४०००, रु. ३००० मेडल, प्रमाणपत्र पाउने छन् भने भु.पु. तर्फको खेलमा प्रथम, द्वितीय र तृतीय विजेताले रु ५०००, रु ३०००, रु २००० पाउने भलिबल खेल संयोजक अम्बर सिं रानाले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय कला संस्कृतिसँगै राष्ट्रिय कलाकरहरु खुमन अधिकारी, जमुना राना, चन्दन बोहरा, कमल भट्टराई लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहने बताइएको छ । मेलाको हजारौँ दर्शकहरूले अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्