उत्कृष्ट दशमा पुग्नेलाई पनि तीन–तीन लाख पुरस्कार दिने घोषणा

काठमाडौँ – मेरो डान्स युनिभर्सल र मेरो भ्वाइस युनिभर्सको टप १० मा पुग्ने हरेक प्रतिभालाई तीन–तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ ।

नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्ने कार्यमा उल्लेख्य योगदान पुर्‍याएकोमा गायन र नृत्य विद्यालयका शिक्षक शिक्षिकाको अन्तर्क्रिया कार्यक्रममा इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले सो घोषणा गर्नुभएको हो ।

विश्वभरका नेपाली जातिका १२०–१२० प्रतिभाका बिच अन्तिम प्रतिस्पर्धा हुने यी दुवै सोहरूमा टप १० सम्म पुग्ने प्रतिभा नेपाली समुदायका लागि सम्मानित व्यक्तित्व बनिसक्ने हुँदा उनीहरूलाई सम्मान गर्न हरेकलाई तीन–तीन लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरिएको अधिकारीले जानकारी दिनुभयो ।

मेरो भ्वाइस र मेरो डान्स युनिभर्सल सिजन २ को काठमाडौँ अडिसनको पूर्व सन्ध्यामा बिहीबार साँझ काठमाडौँमा सो कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली संस्कृतिको पुस्तान्तरणमा गायन र नृत्यका प्रशिक्षण केन्द्रहरू तथा विद्यालयहरूले उल्लेख्य योगदान गरेको सन्दर्भलाई उल्लेख गर्दै आयोजक संस्था इन्ट्रा फाउन्डेसनका अध्यक्ष अधिकारीले सांस्कृतिक राष्ट्रवादलाई मुलुकको सीमाले बाँध्न नसक्ने उल्लेख गर्नुभयो ।

नेपाली संस्कृतिमाथि विदेशी अतिक्रमणको क्रम तीब्र भएको सन्दर्भ उल्लेख गर्दै उहाँले आफ्‌नो माटोको सुगन्धसहितको मौलिक संस्कृतिलाई भावी पुस्ताहरूमा पुर्‍याउने अभियानले नेपाली जातिको सांस्कृतिक राष्ट्रवाद अझ मजबुत हुने धारणा व्यक्त गर्नुभयो । आफू भुटानमा जन्मेर आफ्‌नै पितृ भूमि नेपालमा १७ वर्षसम्म शरणार्थी शिविरमा कष्टकर जीवन बिताउनु परे पनि नेपाली जातिको पहिचान अझ सशक्त बनाउन र संस्कृतिका माध्यमबाट नेपाली जातिलाई एकताबद्ध बनाउन आफ्‌नो संस्थाले गायन र नृत्यका दुई रियालिटी शोहरू मेरो भ्वाइस युनिभर्सल र मेरो डान्स युनिभर्सल सञ्चालन गरिरहेको बताउनुभयो ।

नेपाली संस्कृतिका प्रतिभाहरु जन्माउने र उनीहरूलाई प्रशिक्षित गरी तिखार्ने अभियानमा लाग्नु हुने सम्पूर्ण प्रशिक्षकहरूमा आभार व्यक्त गर्दै यो पुनीत कार्यमा राज्यले साथ सहयोग निरन्तर दिनु पर्ने उहाँको धारणा थियो । नेपाली संस्कृतिको पुस्तान्तरणका लागि इन्ट्रा फाउन्डेसनले अमेरिकाका सात वटा शहरुहरुमा नेपाली लोक, शास्त्रीय सङ्गीत र नृत्यका कक्षाहरू अनवरतरुपमा सञ्चालन गरिरहेको र ती कक्षाहरूमा ११ सयभन्दा बढी नेपाली मुलका बालबालिकाहरू अध्ययनरत रहेको जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानका उपकुलपति शम्भु राईले नेपाली संस्कृतिको जगेर्नाका लागि फाउन्डेसनले गरेको योगदान उल्लेख्य रहेको बताउनुभयो । आफूहरुले पनि यसरी नै गर्ने सोचाइ बनाएको भए पनि विविध कारणले यो हालसम्म सम्भव नभएको बताउँदै आफूले कमाएको सम्पत्ति नेपाली कला, संस्कृतिको विकासका लागि लगाउने फाउन्डेसनको कार्यप्रति आफूले नमन गर्न चाहेको सुनाउनुभयो ।

यी दुवै शोले विश्वभरका नेपाली जातिका प्रतिभाहरूलाई एक ठाउँमा ल्याउने उद्देश्य राखेको छ ।

कार्यक्रममा दिइएको जानकारीअनुसार, अमेरिका, बेलायत, पोर्चुगल, अस्ट्रेलिया, जापान, हंङकंङ, थाइल्यान्ड, दुवाई, कतार, सिलगुडी, मुम्बई, पोखरा, नेपालगन्ज, बिर्तामोडलगायतका ठाउँहरूमा दुवै शोका अडिसनहरू सम्पन्न भइसकेका छन् ।

फाउन्डेसनका नेपाल च्याप्टरका अध्यक्ष बाबुकृष्ण कार्कीको सभापतित्वमा सम्पन्न भएको सो अन्तरक्रियात्मक कार्यक्रममा फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले विश्वका विभिन्न स्थानमा भएका अडिसनहरूमा संसारका ६० भन्दा बढी देशमा बसोबास गर्ने नेपाली जातिका प्रतिभाहरूले सहभागिता जनाएको जानकारी दिएका थिएनुभयो।

नेपाल टेलिभिजनबाट प्रसारण हुने दुवै शोहरूको काठमाडौँ अडिसन यही चैत्र १६ र १७ गते सामाखुसीस्थित नवोदित कलेजमा हुने र त्यसबाट छनौट भएपछि संसारभरका विभिन्न देशहरूबाट आउनेसमेत १२० जना गायनमा र १२० जना नृत्यका प्रतिभाहरूले टेलिभिजनमा प्रदर्शन हुने प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।

कार्यक्रममा सहभागी गायन र नृत्यका प्रशिक्षकहरूका तर्फबाट नृत्य निर्देशक सङ्घका अध्यक्ष वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ र महेश गोदारले विश्वमा छरिएका नेपाली प्रतिभाहरूलाई नेपालसँग जोड्ने उद्देश्यमा दुवै रियालिटी सोहरूलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको थियो । उहाँहरूले नृत्य र गायन सिकेर पढेर आफ्‌नो जातिका लागि ठुलो प्लेटफर्ममा पुग्न पाइने आशालाई साकार पार्न यी दुई शोहरुले योगदान दिएकोमा खुसी व्यक्त गरेका गर्नुभएको थियो ।

दुवै शोका विजेताहरूले एक एक करोड पुरस्कार पाउने छन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाउने छन्।

यसबाहेक समूह नृत्य प्रतिस्पर्धाका विजेताले २० लाख, उपविजेताले १० लाख र तृतीय हुनेले ५ लाख पाउने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.