राजनीतिक कार्यक्रम भनेर अनुमति तर गतिविधि अराजक भएपछि बल प्रयोग: प्रहरी

काठमाडौ- गत चैत १५ गते शुक्रबार तीनकुनेमा भएको प्रदर्शन प्रहरीको कारण नविथोलिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ । सो घटनाको वारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता दिनेश आचार्यले प्रदर्शन उत्तेजित र अराजक बनेपछि धनजनको क्षति हुन नदिन प्रहरीले हतियार चलाउन बाध्य भएको बताउनु भयो।

सामाजिक सञ्जाल तथा मिडियामा भ्रम छर्ने सामग्री र अभिव्यक्तिहरू प्रकाशित भएको भन्दै उहाँले प्रदर्शन विथोल्ने गतिविधि नेपाल प्रहरीवाट नभएको स्पष्ट पार्नु भयो । राजनीतिक कार्यक्रम भनेर अनुमति लिए पनि उत्तेजक गतिविधि गर्ने उद्देश्यका साथ प्रदर्शन आयोजना गरिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिन बल प्रयोग गर्न बाध्य भएको प्रहरी प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।

प्रहरीले तीनकुनेमा भएको हिंसात्मक घटनामा आन्दोलनकारीलाई उत्तेजित बनाउने दुर्गा प्रसाईंलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न सम्भव नभएको जनाएको छ । प्रहरी प्रवक्ता आचार्यले ठुलो भिड भएका कारण प्रसाईँलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न सम्भव नभएको उल्लेख गर्दै खोजी कार्य जारी रहेको र केही दिनमै सफलता पाउने विश्वासमा आफूहरू रहेको बताउनुभयो ।

प्रहरीले उदयपुरकी २२ वर्षीया रेविका र २४ वर्षीय दिनेश खत्रीलाई प्रहरीले चलाएको गोली तिघ्रामुनी लागेको र उनिहरुको उपचार भइरहेको जनाएको छ । प्रहरीले हिंसात्मक घटनाको दोषीलाई पक्राउगरी कारवाही गरीने पनि प्रहरीले जनाएको छ । हाल सम्म ५९ जना पक्राउ गरिएको छ ।

यसै बीच तीनकुने आन्दोलनमा हिंसात्मक प्रदर्शन गरेको भन्दै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद तथा राप्रपाका महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई अदालतले दोस्रो पटक म्याद थप गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि आज उपस्थित गराइएको थियो । उनीहरूलाई थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको हो ।

आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो ।उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरुलाई आज दोस्रो पटक म्याद थप गर्न लगिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.