चाँगुनारायणको ताथली क्षेत्रमा अवैधरूपमा माटो र बालुवा तस्करी

भक्तपुर- भक्तपुरका अधिकांश क्षेत्रमा अवैधरुपमा माटो र बालुवा तस्करी बढेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली क्षेत्र माटो र बालुवा तस्करीको केन्द्र नै बढेको छ । रातभरी डोजर आतंक मौलाएपछि स्थानीय आक्रोसित बनेका छन् ।
चाँगुनारायण नगरपालिका वडा नम्बर १, ३, ४ र ९ आसपासका क्षत्रेमा रातको समय डोजर आतंक बढेपछि स्थानीयले नगपालिकालाई तस्करी रोक्न आग्रह गरे ।
पटक पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा समेत बालुवा तस्करी नरोकिएपछि अहिले उत्खनन क्षेत्र सिल गरिएको छ । नगर उप प्रमुुख रमेश बुढाथोकीको नेतृत्वमा अनुगमन गर्दा नालारोड आसपासका क्षेत्रमा मात्रै ६, ७ स्थानमा अवैध खानी संचालन भइरहेको पाइएको हो ।
काठमाडौं क्यान्सर सेन्टरको साहायक गेट दिनभर बन्द रहेपनि रातभर यही गेटबाट डोजरले माटो र बालुवा तस्करी हुने गरेको स्थानीयको आरोप छ ।
अस्पताल वरपर माटो र बालुवा उत्खनन हुँदा अस्पतालले कुनै जानकारी नदिनु मिलिमत्तो भएको हुन सक्ने आशंका नगरपालिकाको छ । बालुवा र माटोको दोहनले वस्ती नै भासिने डरले स्थानीय त्रासमा छन् ।
संलग्नलाई कारबाही गरेपनि लुकिछिपी तस्करी बढेको उपप्रमुख बुढाथोकीले स्वीकार गर्नु भयो । बालुवा र माटो वसार पसारमा उप प्रमुखकोसमेत नाम मुछिएपछि अहिले अनुगमन तीव्र पारिएको छ ।
तर त्यसमा आफ्नो कुनै संलग्नता नरहेको र उक्त भनाइमा सत्यता नरहेको उपप्रमुख बुढाथोकीको दावी छ । तस्करी बढेपछि स्थानीय प्रशासनले चाँसो दिएको छ ।
दोहन र तस्करी रोक्न स्थानीय, प्रहरी प्रशासन र जनप्रतिनिधिकै सक्रियतामा अहिले धमाधम उत्खनन स्थल सिल गरिन थालेको छ ।
प्रतिक्रिया राख्नुहोस्