सदरमुकाममा २ वटा सार्वजनिक धारा: एउटामा मेयर र अर्कोमा उप–मेयरले गरे उद्घाटन

गोरखा – गोरखा सदरमुकाममा हालै निर्माण सम्पन्न भएको सार्वजनिक धाराको एक कार्यक्रम बिच उद्घाटन गरिएको छ ।
गोरखा नगरपालिका–६ को कालीमाटी बजारको लोकतान्त्रिक चोक र गोरखा बसपार्कमा रहेको धाराको आज बिहान उद्घाटन गरिएको हो ।
पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सर्व साधारणहरूलाई प्रयोग गर्न बनाएको सार्वजनिक खानेपानी धाराको मेयर कृष्णबहादुर राना मगर र उप–मेयर मसली माया थोकर पुनःले उद्घाटन गर्नुभएको हो ।
कालीमाटी बजारको धारा मेयर रानाले र बसपार्कको धारा उप–मेयर पुनःले बिहीबार बिहान उद्घाटन गर्नुभएको हो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत २ फरक स्थानमा १–१ हजार लिटर क्षमताको प्लास्टिकको पानी टङ्की राखेर खानेपानीको धारा निर्माण गरेको सल्लाहकार मोहनलाल श्रेष्ठले बताउनुभयो ।
दुवै स्थानमा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका राना र पुनःले धारा निर्माण सँगै सर्व साधारणलाई पानी पिउन र सर सफाइमा सहजता हुनेभन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीहरू तथा स्थानीयको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्