बेवारिसे सडक मानवको सहयोगार्थ आजदेखि भक्तपुरको राधेराधेमा ज्ञानबिज्ञान महायज्ञ

भक्तपुर-  सडकमा अलपत्र रहेका बेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरमा आजदेखि ज्ञानबिज्ञान महायज्ञ सञ्चालनमा हुने भएको छ । जिल्लालाई सडक मानवमुक्त गर्न उद्धार गरी, उपचार गर्ने, आश्रय दिने, शिक्षा, स्वास्थ्यको व्यवस्था र पारिवारिक पुनर्मिलन गर्दै आएको मानव कल्याण समाज भक्तपुरले सडक मानवका लागि स्थायी आवास निर्माणार्थ सो ज्ञानबिज्ञान महायज्ञ आयोजना गरेको हो ।

मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात कार्यालयसँगै आयोजना हुने महायज्ञ २७ गतेसम्म सञ्चालन हुनेछ । श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञको पुर्वसन्ध्यामा बिहीबार बिहान बृहत् कलश यात्राको आयोजना गरिएको छ । कलश यात्रामा ठुलो सङ्ख्यामा महिला तथा भक्तजनको उपस्थिति रहेको महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक गोपी न्यौपानेले बताउनुभयो ।

समाजकी संस्थापक अध्यक्ष एवं महायज्ञकी कथा वाचीका देवी सुमी मानवले सडकबाट उद्धार गरिएका असहाय सडक एवं बेवारिसे मानवको लालन, पालन र स्थायी आवाससहितको दिगो व्यवस्थापनका लागि  महायज्ञको आयोजना गर्न लागेको बताउनुभयो । समाजले ‘२०७२ सालदेखि भक्तपुरबाट सडकमा बेवारिसे रहेका मानवहरूलाई चाउचाउ, बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरेको थियौ उहाँले भन्नुभयो ।

समाजले हाल भक्तपुरको झौखेलमा एउटा भाडाको टहरामा ४१ जना बेवारिसे सडक मानव राखेर पालन पोषण गर्दै आएको छ । समाजका सचिव विजय कुमार पोखरेलका अनुसार, मानव कल्याण समाजले काठमाडौँको पशुपति, काभ्रेको पनौती र धुलिखेल, दाङको तुलसीपुर, बाराको निजगढमा गरी पाँच सय पाँच जनालाई खाना, नाना र छानासहितको सेवा दिँदै आएको छ ।

त्यस क्रममा हालसम्म दुई हजार एक सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी परिवारमा पुनर्स्थापना गरिसकेको समाजकी संस्थापक अध्यक्ष सुमि मानवले बताउनुभयो । । भक्तपुरबाट सुरु भएको अभियान अन्तर्गत अन्यत्रका पाँच शाखामा स्थायी/अस्थायी संरचनाको व्यवस्था भए पनि भक्तपुरमा भाडाको साँघुरो घरबाट सेवादिन कठिनाइ भएपछि महायज्ञमार्फत सहयोग सङ्कलन गरेर स्थायी बसोबासको व्यवस्था मिलाउन लागिएको अध्यक्ष मानवको भनाई छ ।

महायज्ञको बिहीबार अपराह्न प्रख्यात भागवत बाचक दिनबन्धु पोखरेलले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.