आधुनिक तरीकाले मकैखेती गर्दै मोतिगञ्जका किसान

बुटवल- बुटवल-१४ सेमलार मोतिगञ्जका किसानहरुले परम्परागत र निर्वाहमुखी खेती प्रणाली छाड्दै, आधुनिक र ब्यबसायिक खेती प्रणाली अंगाल्न थालेका छन् ।

बुटवल उपमहानगरको प्राबिधिक सहयोगमा खासगरी मकै खेती ब्यबसायिक रुपमा उत्पादन गर्न थालेपछि उनिहरुले बार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न थालेको सुनाउँछन ।

मोतीगन्जका अगुवा कृषक मुक्ति प्रसाद गैरेका अनुसार पछिल्लो समय सेमलार र मोतीपुरका ४१ जना किसानले ३० हेक्टर जग्गामा सामुहिक मकै खेती गरेका छन् ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा बिशेष पकेट क्षेत्र बनाएर ब्यबसायिक उत्पादन गर्ने उद्देश्यसहित मकै खेती शुरु गरेका किसानहरुले पहिलेको तुलनामा ३ गुणासम्म उत्पादन बृद्धि हुनुका साथै बार्षिक लाखौं रुपैयाँ आर्जन गर्न सफल भएका थिए ।

प्रबिधि र ज्ञान उपलब्ध भएका कारण पहिलेको तुलनामा उत्पादन बृद्धि भएको उनिहरुको भनाइ छ ।

उत्पादनलाई बजारसम्म पुर्‍याउन कठिनाइ हुँदा बिचौलियाहरुको चलखेल हुने र किसानहरु मर्कामा पर्ने गरेका छन ।

किसानहरु आफैँले गरेको उत्पादन बजारसम्म पुर्‍याएर बिक्रि बितरण गर्ने गरेको र यसबाट मकैको मुल्य अपेक्षा गरे बमोजिमको पाउने गरेको उनीहरुको भनाइ छ ।

तर बजारसम्म लैजान ढुवानीको साधनको अभाव भएकोले कृषकहरुको हितलाई ध्यानमा राखेर सरकारले बजारीकरणमा समेत सहयोग गर्नुपर्ने माग उनीहरुको छ ।

जमिनको उत्पादकत्व बृद्धि गरेर किसानहरुको आम्दानी समेत बढाउने उद्देश्यले मकै बिकास कार्यक्रम संचालन गरिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

३ बर्षअघि एउटा कृषक समुह गठन गरेर मकै पकेट क्षेत्र घोषणा गरेर योजना संचालन गरिएको कृषि प्राबिधिक सोमनप्रसाद कुर्मीले बताउनु भयो ।

पहिलो बर्ष २० जना मात्र कृषकहरु सहभागि भएकोमा दोश्रो बर्ष ३० जना र तेश्रो बर्ष ४१ जना पुगेको उल्लेख गर्दै उहाँले उत्पादन बढेसँगै ब्यबसायिक मकै खेतीतर्फ अन्य कृषकहरु पनि आकर्षित भएको जानकारी दिनुभयो ।

किसानहरुलाई बिउ, मल र तालिम प्रदान गर्दै आएको बुटवल उपमहानगरपालिकाले उत्पादनलाई बजारसम्म पुर्‍याउन थप सहयोग गर्नुपर्ने स्थानीयको माग छ ।

किसानहरुको परम्परागत र निर्वाहमुखी खेती प्रणालीमा सुधार ल्याई ब्यबसायिक मकै खेतीतर्फ आकर्षित गरी उत्पादकत्व र आम्दानी दुवै बृद्धि गर्न यो कार्यक्रम सफल हुने विश्वास किसान र उपमहानगरपालिका दुबैको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.