अपहरणमा परेकी सात वर्षीया बालिका २४ घण्टाभित्र सकुशल उद्धार

सुनसरी- जिल्लाको कोशी गाउँपालिका-७ मुसहरी टोल निवासी कुशेश्वर सदाकी सात वर्षीया छोरी ईशु सदा अपहरणमा परेको २४ घण्टामा सकुशल उद्धार गरिएको छ ।
चैत २० गते दिउँसो १:४० बजे घर अगाडि खेलिरहेको अवस्थामा उनलाई अपरिचित व्यक्तिले सिटी सफारीमा राखी अपहरण गरेका थिए ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) योगराज खतिवडाको कमाण्डमा विशेष टोली परिचालन गरिएको थियो । साथै, प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रदेश अनुसन्धान टोली (PIT) समेत खटिएको थियो ।
प्रहरी टोलीले खोजी कार्य तीव्र बनाएपछि बिहिबार सुनसरी जिल्लाको कोशी गाउँपालिका-८ स्थित कोशी ब्यारेजको २६ नं. ढोकाको पुलमाथिबाट अपहरणमा परेकी बालिकालाई सकुशल उद्दार गर्न सफल भएको छ ।
यसै क्रममा सप्तरी जिल्लाको कन्चनरुप नगरपालिका-१२ धरमपुर निवासी जितेन्द्र साह (हलुवाई) पक्राउ परेका छन् । हाल उनी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्