इटहरीमा ‘होक्स’ राखेर आतङ्क सिर्जना गर्ने दुई जना पक्राउ

सुनसरी – इटहरी उपमहानगरपालिका अगाडि र सुनसरी-मोरङ जोड्ने बुढी खोला पुलनजिक ‘होक्स’ (नक्कली बम) राखी आतङ्क सिर्जना गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको कनकाई नगरपालिका–८ निवासी ४६ वर्षीय खगेन्द्र खरेल (सञ्जय) र लक्ष्मीदेवी थापा रहेका छन्। दुवै जनालाई केही दिनअघि भारतमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी सुनसरी ल्याइएको प्रहरीले जनाएको छ।
गत पुस १६ गते खरेलले स्वयं म्यासेजमार्फत प्रहरीलाई बम राखिएको जानकारी दिएका थिए। तर इटहरी नगरपालिका परिसर र बुढी खोला पुलनजिक फेला परेको शङ्कास्पद वस्तु बम नभई ‘होक्स’ भएको पुष्टि भएको थियो।
घटनापछि खरेल भारततर्फ फरार भएका थिए।
खरेलको विगत हेर्दा उनी विभिन्न बम विस्फोट घटनामा संलग्न रहँदै आएका छन्। २०७६ वैशाख २८ गते गोर्खा जनमुक्ति पार्टीको नाममा झापाको कनकाई नदी पुलमा बम राखेको आरोपमा उनी पक्राउ परेका थिए। उक्त अभियोगमा दुई वर्ष पाँच महिना कैद बसेर छुटेका उनी २०७८ माघ ९ र १३ गते झापाका केही चर्चहरूमा शङ्कास्पद वस्तु राखेर पुनः फरार भएका थिए। ती घटनामा झापा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो।
त्यसपछि २०७८ चैत १४ गते इटहरी–२ स्थित नवजागृति टोलको एक घरमा सुतली बम विस्फोट भएको घटनामा खरेल पुनः पक्राउ परेका थिए। उक्त बम विस्फोटमा रविन थापा र लमजुङका शेरजङ गुरुङ घाइते भएका थिए। थापाकै घरमा विस्फोट भएको सो घटनामा खरेलसहित चार जनालाई इटहरी प्रहरीले पक्राउ गरी कारागार चलान गरेको थियो।
कारागारबाट छुटेपछि खरेलले फेरि पुस १६ गते इटहरी उपमहानगरपालिका अगाडि र बुढी खोला पुल नजिक ‘होक्स’ राखेर आतङ्क फैलाउने काम गरेका थिए।
हाल खरेल र थापासँग थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्