महिलालाई स्वरोजगार र व्यावसायिक नबनाएसम्म देश समृद्ध हुदैनः पूर्व सभामुख घर्ती

भक्तपुर – महिलालाई स्वरोजगार, व्यावसायिक र आत्मनिर्भर बन्न विभिन्न आर्थिक क्रियाकलापका तालिममा जोड दिनु पर्ने नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं पूर्व सभामुख ओनसरी घर्तीले बताउनु भएको छ । भक्तपुरका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकामा आयोजना गरिएको एक महिने हाते होजियारी तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै घर्तीले यस्तो बताउनु भएको हो ।
आठ वर्ष तरकारी बेचेर आफूले सङ्घर्ष गर्दै अथक मेहनत र परिश्रमले नेपालको संसदीय इतिहासमा गणतान्त्रिक नेपालको पहिलो महिला सभामुख बन्न सफल भएको स्मरण गर्नुभयो । रोल्पाको जंकोट जस्तो विकट र चेतनाका हिसाबमा पछि परेको ठाउँमा अझ महिलाले सङ्घर्ष गर्नु चुनौतीपूर्ण थियो भन्नु भयो । परिवार समाज र राष्टलाई नै समृद्धितर्फ लाने हो भने महिलालाई आर्थिकरुपमा सम्पन्नताको अधिकार दिनै पर्ने जिकिर उहाँले गर्नु भयो ।
बागमती प्रदेशको आर्थिक सहयोगमा महिला विकास केन्द्रले सञ्चालन गरेको उक्त तालिमको अन्तिम दिन सहभागीले धागोबाट बनाएका स्वेटर, गलबन्दी, टोपी, मोजा, पन्जा लगायत विभिन्न सामग्रीहरुको अवलोकन समेत गर्नु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकाले पालिका सरकारले प्रदेश र केन्द्र सरकार सँग क्षमता अभिवृद्धिका कार्यक्रम माग गर्दै जानुपर्ने बताउनु भयो । तालिमबाटबाट बढिभन्दा बढी लाभ लिन सहभागीलाई आग्रह गर्नुहुँदै नगर क्षेत्रका महिलालाई सक्षम र स्वरोजगार बन्न नगरपालिकाले पनि आवश्यक सहयोग गर्दै जानेमा शाखा प्रमुखहरूले जोड दिनुभयो ।
कार्यक्रममा पूर्व सांसद प्रतिमा श्रेष्ठले गृहिणी महिलाहरूले अब चुलोचौको र मेलापातमा मात्र नअल्झिन आग्रह गर्नु भयो । फुर्सदको समयलाई सदुपयोग गर्दै आयआर्जनमा लाग्न जोड दिँदै निरन्तरता दिन पालिकालाई पनि आग्रह गर्नु भयो । सामान्य आवश्यकता पूर्तिका लागि श्रीमानकै भर पर्नु राम्रो नभएको तर्क गर्नुहुँदै उहाँले घरमै बसेर पनि केही गर्न सकिन्छ त्यसैले तालिम आयोजना गरिएको र यसबाट दत्तचित्त व्यवसाय सुरु गर्न आग्रह गर्नु भयो । तालिम लिएका ७० जना महिलाहरू अहिले आफ्नै व्यवसाय सञ्चालन गरेर लाभ लिइरहेको चाँगुनारायण नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख वरिष्ठ महिला विकास अधिकृत निला कुमारी घिमिरेले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्