जुम्लाको सिञ्जा गाउँपालिकामा मालपोत र नापी कार्यालयको उद्घाटन

जुम्ला – जुम्लाको सिञ्जा क्षेत्रका तीन पालिकाका नागरिकलाई लक्षित गरी सिञ्जा गाउँपालिकाको नराकाेटमा नापी र मालपोत कार्यालय उद्घाटन गरिएको छ ।
सिञ्जा क्षेत्रका हिमा,सिञ्जा र कनका सुन्दरी गाउँपालिकाका नागरिककलाई घर आँगनमै सेवा प्रवाह गर्ने गरी नराकाेटबाट नापी र मालपोत कार्यालय उद्घाटन गरी सेवा सुरु गरिएको हो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शुक्रवार नराकाेटमा स्थापना गरिएको नापी र मालपोत कार्यालयको उद्घाटन गर्नुभयो ।
नापी र मालपोत सेवाका लागि महँगो खर्च व्यहाेरेर सदरमुकाम जान बाध्य घर आँगनमै मालपोत र नापी कार्यालय स्थापना भएपछि सिञ्जावासी उत्साहित भएका छन् । सिञ्जा-६ गोराका मोती दमाईले सङ्घीयताको उपहार स्वरूप सिञ्जा क्षेत्रका तीन पालिकाले नापी र मालपोत कार्यालय पाएको बताउनुभयो । उहाँले भन्नुभयो,’ सिञ्जामा नापी र मालपोत आउनु भनेकाे हाम्रो खर्च बच्नु हो । घरकै खाना खाएर सेवा लिन पाइने भयो । अब महँगो खर्च गरी हप्ता दिन सदरमुकाम बास बस्नु पर्ने बाध्यता हट्यो निकै खुसी छौ ।
’ जुम्लाको सिञ्जा क्षेत्रमा सङ्घीयता कार्यान्वयनपछि नापी र मालपोत कार्यालय स्थापना हुने भएको छ । सङ्घीयता कार्यान्वयनकाे करिब ७ वर्षपछि सिञ्जा क्षेत्रका तीन पालिका लाभान्वित हुने गरी सिञ्जामा मालपोत कार्यालय उद्घाटन भएको हो । सिञ्जामा नापी र मालपोत कार्यालय स्थापना गर्ने सरकारको निर्णयले ऐतिहासिक सिञ्जा क्षेत्रले आर्थिक र प्रशासनिक रूपमा ठुलो सफलता हात पारेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताउनुभयो । उहाँका अनुसार कार्यालयको दिगाे व्यवस्थापन तथा प्रभावकारी सेवा प्रवाहमा आवश्यक सहयोग गरिने छ ।
जग्गा खरिद,नामसारी,राजीनामा लगायतका काम गर्न महँगो खर्च गरेर सदरमुकाम धाउनु पर्ने सिञ्जावासीको बाध्यता थियो । हप्ता दिन सम्म हाेटल बास बस्नु पर्ने आउजाउ,हाेटल बास,कागजात व्यवस्थापनमा न्युनतम १०/१५ हजार रुपैयाँ खर्च हुने गरेको छ । तर सिञ्जामा नापी र मालपोत उद्घाटन भएपछि सिञ्जा क्षेत्रका हिमा,सिञ्जा र कनक सुन्दरी गाउँपालिकाका नागरिक उत्साहित भएका हुन । अब समय र पैसा सबै बचत हुने सिञ्जामा नापी मालपोत स्थापनापछि गाउँमै सेवा मात्र पाइने छैन । सिञ्जाका तिलाचन्द्र चाैलागाँईले भन्नुभयो,’सदरमुकाम जाँदा लाग्ने खर्च,समय सबै जोगिने भयो । जग्गा नामसारी,राजीनामा गर्दा बुढापाकालाई हप्ताै दिनसम्म हुने दुख पनि अन्त्य हुने भयो । यो हाम्रो ऐतिहासिक सफलता हो ।
अब सिञ्जा क्षेत्रका तीनै पालिकाका नागरिकले घर आँगनमै सेवा पाउने छन् । गत पुस ९ गत्तेको मन्त्री परिषद्काे निर्णयले सिञ्जामा नापी मालपोत स्थापना गर्न बाटो खुलेको थियो ।
प्रतिक्रिया राख्नुहोस्