अन्नपूर्ण हिमालको आधार शिविर जान पर्यटकको चहलपहल (फोटो फिचर)

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भुगोलमा पर्ने अन्नपूर्ण हिमालको आधार शिविर जाने पर्यटकको चहलपहल सुरु भएको छ । गर्मी मौसम सुरु भएसंगै त्यस क्षेत्रमा जाने आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुको आधार शिविरमा चहलपहल बढेको हो । आरोहीहरुले आधार शिविर क्षेत्रमा एक सय भन्दा बढी टेन्ट टाँगेर बसेका छन् ।

आरोहण टोलीका साथै आन्तरिक पर्यटकहरुको पनि आधार शिविरमा आगमन शुरु भएको नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिनुभयो ।

समुन्द्रि सतहदेखि चार हजार एक सय मिटर उचाईमा आरोहीका साथै घुमघामका लागि आन्तरिक पर्यटकहरु पनि आउन थालेका हुन् ।

पर्यटन विभागले पछिल्लो पटक गत मङलवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्षको बसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि पाँच वटा समूहका ३० जना पुरुष र १२ जना महिला आरोहीले अनुमति लिएका छन् । बसन्त यामका लागि हालसम्म पाँच वटा हिमालका लागि ५८ जनाले अनुमति लिएका छन् ।

मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै समुन्द्रि सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ ।

नारच्याङ देखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोला देखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।


छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाईमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पंक्षी, जंगल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.