हेमजामा आलु महोत्सव सुरु

कास्की- पर्यटकीय नगरी पोखरामा आजदेखि १३ औँ संस्करणको ‘राष्ट्रिय हेमजा आलु महोत्सव’ सुरु भएको छ ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ स्थानीय विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो ।

महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सव शुभारम्भ गर्नुहुँदै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले महानगर किसानको पक्षमा रहेको स्पष्ट पार्नुहुँदै कृषि उपजका नाममा महोत्सव गरिनु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा आज हलगोरु पाल्ने कृषक परिवार, भाषाविद् मुकुन्दशरण उपाध्याय लगायत सम्मानित हुनुभयो ।

वि.सं. २०७८ को जनगणना अनुसार हेमजामा कुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस वसोबास गर्दछन् ।

हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ ।

त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आउनुभएको छ ।

त्यहाँ प्रति रोपनी आलुको औसत उत्पादन लागत रु.१८ हजार ५ सय ५७ रहेकोमा औषद उत्पादन ७ सय ५ केजी प्रतिरोपनी रहेको तथ्याङ्कमा उल्लेख छ । महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलुको कारोवार भइरहेको छ ।

आजदेखि सुरु महोत्सव यही वैशाख ३ गतेसम्म संचालन हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.