जनताको अधिकारमाथि धावा बोल्ने जोकोहिलाई कारवाहि गर्छौं: सञ्चारमन्त्री गुरुङ

लमजुङ- नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको अधिकारमाथि धावा बोल्ने जो कोहिलाई पनि कारवाहि गर्ने बताउनुभएको छ । आइतबार लमजुङको क्व्होँलासोंथर गाउँपालिका–५ सिङ्दीमा आयोजित गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।
जनताले लामो संघर्ष गरेर ल्याएको व्यवस्थाको विरोधमा लाग्ने, कानुनको उल्लंघन गर्ने जो कोहिपनि कारबाहिको दायरामा ल्याउने मन्त्री गुरुङको भनाई थियो । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले संविधानको पालना गर्ने र सार्वभौम नागरिकको अधिकारमाथि कुनै दखल नगर्ने राजनीतिक दलसँग भएको सम्झौताको पूर्वराजाले उल्लङ्घन गरेको आरोप लगाउनुभयो ।
पछिल्लो समय पूर्वराजावादीको नाममा व्यवस्था विरोधी, संविधान विरोधी तत्वले टाउको उठाइरहेको भन्दै सबै गतिविधि एउटा लोकतान्त्रिक सरकारको हैसियतले गर्न दिइरहेको मन्त्री गुरुङले बताउनुभयो ।
“राजावादीको नाउँमा हत्याको बाटो, हिंसाको बाटो, अराजकता र लुटपाटको बाटो रोजियो’ मन्त्री गुरुङले ‘भन्नुभयो, यी सबै गतिविधिलाई सरकार टुलुटुलु हेरेर बस्न सक्दैन, चुप लागेर बस्न सक्दैन, कारबाही अगाडि बढाउँछ, त्यसको सुरुवात भइसकेको छ।’
नेपाली जनताले रगत पसिना बगाएर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सरकार सँधै प्रतिबद्ध रहेको भन्दै मन्त्री गुरुङले यस्ता गतिविधिलाई साथ नदिन सबै नागरिकलाई आग्रह गर्नुभयो ।
‘जसले संविधान मिच्न खोज्छ, कानुन मिच्न खोज्छ, जनताको अधिकारमाथि धावा बोल्न खोज्छ, सरकारले सख्त कारबाही गर्छ’ मन्त्री गुरुङले बताउनुभयो ।
मुलुकको हित, जनताको हित, सङ्घीय लोकतान्त्रिक शासन प्रणाली र मुलुकको सम्बृद्धिका लागि सरकार सधैै लागि पर्ने मन्त्री गुरुङको भनाई थियो ।
यसअघि सरकार अस्थिर हुँदा विकास निर्माणको गति रोकिएको, अर्थतन्त्र धरासायी भएको, उत्पादन रोकिएको, मुलुकको अधोगति भएका कारण नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता ठुला दल मिलेर दुई तिहाइको सरकार बन्नुपरेको मन्त्री गुरुङको भनाई छ । वर्तमान सरकार बनेपछिको आठ महिनामा समस्याको धेरै सुधार भइसकेको उहाँको दावि थियो ।
वर्तमान सरकारले मुलुकलाई सही बाटोमा र लोकतन्त्रलाई सुदृढ गर्नेे काम सुरु गरेको बताउनुभयो । यही गठबन्धनको सरकार ०८४ सालसम्म कायम रहने र मुलुकको हित र विकासमा लागिरहने मन्त्री गुरुङको भनाई थियो ।
प्रतिक्रिया राख्नुहोस्