पुस्तौँपछि नेपालमा पाइला टेक्दै मेरो भ्वाइस युनिभर्सका प्रतिभा

काठमाडौँ- विश्व स्तरीय नेपाली रियालिटी सो मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सका लागि संसारभरबाट प्रतिष्पर्धीहरु काठमाडौँ आउन थालेका छन् । आयोजक संस्था इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ती प्रतिभाहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । उहाँले संस्कृतिका माध्यमबाट संसारभरका नेपाली जातिका बिचमा एकता कायम गर्ने अभियानमा सबैको साथ पाउने आशा व्यक्त गर्नुभयो । आज शनिवार काठमाडौँ आउनेमा छिमेकी भुटानदेखि युरोपसम्मका विभिन्न देशका प्रतिभाहरू रहेको फाउन्डेसनले जनाएको छ ।
जसअनुसार, मेरो भ्वाइस युनिभर्सका लागि भुटानबाट ४ जना, दुबईबाट ७ जना, हंगकंगबाट ५ जना, कतारबाट ५ जना, पोर्चुगलबाट २ जना, म्यानमारबाट १ जना , भारतको मुम्बईबाट ५ जना प्रतिभाहरू काठमाडौँ आइपुगेका छन् । भुटान र म्यानमारबाट आएका प्रतियोगीहरू जीवनमा पहिलोपल्ट नेपाल आइपुगेका हुन् । उनीहरूले आफ्नो पितृ भूमि नेपालमा पाइला टेक्न पाउँदा आफू धन्य भएको भन्दै आयोजक फाउन्डेसनप्रति आभार व्यक्त गरेका छन् । धेरै पुस्तापछि आफूहरूले नेपाल टेक्न पाएको उनीले गर्व महसुस गरेको बताए । अन्य मुलुकका प्रतियोगीहरू पनि नेपाल आउने क्रममा रहेको आयोजकले जनाएको छ ।
विश्वका विभिन्न मुलुकहरूमा भएका अडिसनहरूबाट छनौट भई भ्वाइस युनिभर्सका लागि एक सय २० जना र मेरो डान्स युनिभर्सका लागि एक सय २० जना प्रतिष्पर्धीहरु काठमाडौँ आउने छन् । उनीहरूलाई काठमाडौँमा खाने बस्ने लगायतको सम्पूर्ण व्यवस्था आयोजक संस्था इन्ट्रा फाउन्डेसनले नै व्यहोर्ने छ । दुवै सोहरू नेपाल टेलिजिनबाट प्रसारण हुनेछन् ।
प्रतिक्रिया राख्नुहोस्