‘भैरव रिसाल स्रोतको पहिचान र समाचार व्यवस्थापनमा निपूर्ण हुनुहुन्थ्यो’

काठमाडौँ- “वरिष्ठ पत्रकार भैरव रिसाल समाचारको खोजी, स्रोत पहिचानका लागि निकै मेहनत गर्नुहुन्थ्यो, आफ्ना विचार सबैसँग स्पष्ट राख्नुहुन्थ्यो”, वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले रिसाल सँग काम गर्दाका क्षण स्मरण गर्दै भन्नुभयो ।

रिसाल राष्ट्रिय समाचार समिति ९रासस०मा प्रमुख समाचारदाता रहँदा रेग्मी उहाँका सहकर्मी हुनुहुन्थ्यो । रेग्मीका शब्दमा रिसाल समाचारको स्रोत पहिल्याएर उत्खनन गर्न सिपालु, सादा जीवन र उच्च विचारका धनी हुनुहुन्थ्यो ।

“उहाँ स्रोतको उपयोग गर्नसमेत पोख्त हुनुहुन्थ्यो, हामीहरुलाई पनि समाचार लेखनमा हौसाइरहनुहुन्थ्यो”, रेग्मीले भन्नुभयो । रिसाल सुँघेर समाचारको स्रोत पत्ता लगाउने, स्रोतसम्म पुग्ने र समाचारको व्यवस्थापनमा अब्बल मानिनुहुन्थ्यो । जहिल्यै सक्रिय रहने रिसाल धेरै पत्रकारका लागि प्रेरणाको स्रोत भएको उहाँको बुझाइ छ ।

राससका पूर्वप्रमुख समाचारदाता रेग्मीले भन्नुभयो, “राससको उहाँ स्तम्भ जस्तै हुनुहुन्थ्यो । उहाँसँग समाचार धेरै स्रोत थिए, जहिले र जतिखेर पनि समाचार निकाल्न सक्नुहुन्थ्यो । उहाँमा सामाचार व्यवस्थापनको राम्रो कला थियो ।” उहाँले राससमा छँदा जिल्लाका समाचारलाई प्राथमिकता दिने कामको सुरुआत गरेको समेत स्मरण गर्नुभयो । “उहाँ र हामी मिलेर जिल्लाबाट प्राप्त समाचारलाई प्राथमिकता दिने र फोनकल सकेसम्म ‘मिस’ गर्न हुन्न र लुकेको समाचार निकाल्नुपर्छ भन्ने सोचले काम गरेका थियौँ, तर त्यसलाई दीर्घकालीन रुपमा स्थापित गर्न सकिएन”, उहाँले भन्नुभयो । रेग्मीले वरिष्ठ पत्रकार रिसाल सँग करिब १२ वर्षभन्दा बढी सहकर्मीका रुपमा एउटै टेबलमा बसेर काम गर्नुभएको थियो ।

राससका पूर्वप्रमुख समाचारदाता खिलध्वज थापा पनि रिसाल समाचार लेखन र व्यवस्थापनमा निपूर्ण व्यक्तिका रुपमा स्मरण गर्नुहुन्छ । उहाँले भन्नुभयो, “समाचारको स्रोत पत्ता लगाउन र विषयवस्तु प्राप्त गर्न उहाँ निपूर्ण हुनुहुन्थ्यो । आफू मातहतका कर्मचारीले गरेका कमीकमजोरीको जिम्मेवारी लिँदै, सत्यतथ्य समाचारका लागि प्रेरणा हौसला दिनुहुन्थ्यो ।”

समाचार प्राप्तिका लागि तोकिएका समयमा जहाँ जतिखेर पनि हिँडेरै पुग्ने राम्रो स्मरणशक्ति भएका रिसाल व्यवहारिक पत्रकार हुनुहुन्थ्यो । “सहकर्मीले मैले अह्राएका काम गरेका हुन्, त्यसमा त्रुटि भएमा नैतिक रुपमा म जिम्मेवार लिन्छु भनि सहकर्मीको बचावट गर्नुहुन्थ्यो”, थापाले भन्नुभयो । रिसालको नियमित हिँड्ने बानीले नै उहाँलई दीर्घजीवी र स्वस्थ बनाउन उहाँको बुझाइ छ ।

रिसाल समाचार खोजीका लागि ‘फिल्ड’मा जानैपर्छ भनी समाचारदातालाई प्रोत्साहन गरिरहनुहुन्थ्यो । उहाँ पत्रकारिता क्षेत्रका व्यक्तिहरुले आफूलाई दाई भनी सम्बोधन गरेको रुचाउने व्यक्तिमा पर्नुहुन्थ्यो ।

राससका पूर्वमहाप्रबन्धक श्रीरामसिँह बस्नेतका नजरमा रिसाल गाउँघर, खेतीकिसान, वातावरण र प्रकृतिसँग जोडिएका विषयवस्तुसँग उहाँको ठूलो अभिरुचि राख्ने व्यक्ति हुनुहुन्थ्यो । बस्नेत र रिसालको चिनजान राससमा आबद्ध हुनु अगावैको हो । “दाईले जुन खालको लामो जीवन पाउनुभयो, त्यो सौभाग्य कमैले पाउँछन्, अधिकांश समय समाचार सङ्कलनमै बिताउनुभएका उहाँ हक्की, स्पष्ट, कडा स्वभाव हुनुहुन्थ्यो, समाचारदाता फिल्डमा गए÷नगएको विचार गरी अनुशासनमा राख्नुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

हिमाल र वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनमा निकै चासो राख्ने रिसाल प्रकृतिप्रेमी रहनुभएको उल्लेख गर्दै पूर्वप्रमुख समाचारदाता बस्नेतले भन्नुभयो, “उहाँ त्यसबेलाको समयमा पनि जुनसुकै ओहदाको मानिस भए पनि सोध्न र बुझ्न तथा मनमा लागेको, देखिको र चित्त नबुझेका कुरा लेख्न डर मान्नु हुन्थेन । विषयवस्तु स्पष्टसँग राख्नुहुन्थ्यो ।”

पत्रकारिता सहर केन्द्रित मात्र हुनुहुन्न, समाचारदाता इमान्दारीपूर्वक घटनास्थलमा पुगेर समाचार सङ्कलन गर्नुपर्छ भन्ने मान्यतालाई अहिलेका पुस्ताले अनुसरण गर्ने र प्रेरणा लिन सकिने उहाँको भनाइ छ ।

वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणाअनुरुप आइतबार नै शव हस्तान्तरण भइरहेको छ । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गर्नुभएको थियो । रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । वरिष्ठ पत्रकार रिसालको मुटु र फोक्सोसम्बन्धी रोगबाट ९७ वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.