महत्त्वपूर्ण विधेयकहरू अब चाँडै पारित हुन्छन् : मन्त्री गुप्ता



पर्सा –  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार कुमार गुप्ताले अलपत्र रहेका महत्त्वपूर्ण विधेयकहरू अब चाँडै पारित हुने बताउनुभएको छ ।

पर्साको वीरगन्जमा सोमबार भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्साको १४औँ अधिवेशन उद्घाटन गर्नुहुँदै उहाँले करिब एक दशकदेखि अलपत्र पर्दै आएका सङ्घीय निजामती सेवा र शिक्षा विधेयक अब चाँडै पारित हुने बताउनुभएको हो ।

वर्षौँदेखि अलपत्र रहेका ती विधेयकका करिब एक हजार ८०० उप–दफाहरूमा दफावार छलफल भइसकेको जानकारी दिनुहुँदै उहाँले आगामी संसद् अधिवेशनबाट सङ्घीय निजामती सेवा, शिक्षा र नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक पारित गरिने बताउनुभयो । यी तीन वटै विधेयक सांसदबाट बहुमतले पारित हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले विभिन्न प्रतिक्रियावादी शक्तिहरू सलबलाउन थालेकाले नेपाली जनताले त्यस्ता तत्त्वहरूलाई तह लगाउने चेतावनी दिनु भयो । उहाँले भन्नुभयो, ‘देशमा अहिले गलत कुराको प्रचार भइरहेको छ । जो राजाले आफ्नो परिवार बचाउन सकेनन् उनले देश कसरी बचाउने ? त्यस कारण राजाबाट मुलुकमा विकास र समृद्धि सम्भव छैन ।’ अहिलेको अवस्थामा गणतन्त्रको विकल्प नहेरेको धारणा उहाँले व्यक्त गर्नुभएको छ ।

सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउनुहुँदै मन्त्री गुप्ताले राजाको नाममा मैदानमा उत्रिने नेताहरू लोकतन्त्र विरोधी भएको आरोपसमेत लगाउनुभयो । राजदरबार हत्या काण्डपछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भए लगत्तै नेपालमा शाह वंशीय सत्ता विधिवत् रूपमा समाप्त भएको तर्क गर्नुहुँदै मन्त्री गुप्ताले भन्नुभयो, ‘कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.