आजदेखि नारायणगढ-बुटवल सडक अन्तरगत दाउन्ने खण्ड बन्द

पश्चिम नवलपरासी – नारायणगढ–बुटवल सडक खण्ड अन्तरगत दाउन्ने पहाड क्षेत्रमा सडक विस्तारको काम छिटो सक्न आजदेखि दैनिक सडक बन्द गरेर काम हुँदै छ । दाउन्ने पहाडको १४ किलोमिटर क्षेत्र जीर्ण भएका कारण काम छिटो सक्न सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको हो । आज देखि चैत्र ३१ गते सम्म बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म सडक बन्द हुने छ ।
यो पाँच दिनको अवधिमा पश्चिम नवलपरासीको बर्दघाट देखी पूर्वी नवलपरासीको दुम्किबास सम्मको पहाडी खण्डको सडक मर्मत सम्भार गरिने छ । अत्याधिक खाल्डाखुल्डी बाक्लो धुलोका कारण यात्रा कष्टकर बनेपछि पहिले सडक मर्मत गरेर पहाड काट्ने काम सुरु गर्ने तयारी गरिएको आयोजनाका पश्चिम खण्डका प्रमुख शंसाक मिश्रले बताउनुभयो । वैशाख एक गते बाट १५ दिन सम्म भने रातीमा सवारी आवागमन बन्द गरिने छ । राती ११ देखि बिहान ३ बजे सम्म सडक बन्द गरेर पहाड काट्ने काम गरिने मिश्रले बताउनुभयो ।
दाउन्ने खण्ड बन्द भएको समयमा पूर्वबाट आएका मालवाहक सवारी साधन चोर मारा अरुण खोला खण्डमा रोकिने छन् भने यात्रुवाहक सवारी साधनलाई दुम्कीबास बजार क्षेत्रमा रोकिने छ । पश्चिम बाट जाने सवारी साधनको हकमा भने मालवाहक सवारी साधनलाई ज्यामिरे र हकुईमा रोकिने छ भने यात्रुवाहक सवारी साधनलाई बर्दघाट चिसापानी खण्डमा रोकिने पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्