मोटरसाइकल चोर गिरोह पक्राउ

मोरङ- मोरङ प्रहरीले विराटनगरमा मोटरसाइकल चोरी गर्ने गिरोहका दुइ जनालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेकेा छ ।
चैत्र महिनामा मोटरसाइकल चोरीको घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङले छुट्टै अनुसन्धान टोली गठन गरेर मोटरसाइकल चोर खोजी गर्ने अभियान थालेको थियो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. १७ का सोयल आलम र नौसाद अन्सारी रहेका छन् । उनीहरुलाई चैत्र २६ गते अस्पताल चोकबाट कालो रंगको होण्डा सिबी साइन मोटरसाइकल चोरेर भाग्दै गर्दा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रसाद जोशीले जानकारी दिनुभयो ।
पक्राउ परेसँगै उनीहरुले चोरेका थप पाँच वटा मोटरसाइकल र स्कुटी बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ ।
चालू आर्थिक वर्षो साउनदेखि मंसिरसम्म मोरङमा ६० वटा मोटरसाइकल चोरी भएकोमा केही व्यक्ति पक्राउ परेपछि मोटरसाइकल चोरीको घटना घटेको थियो । तर पुनः चैत्र महिनामा ११ वटा मोटरसाइकल चोरी भएपछि मोरङ प्रहरीले छुट्टै टोली गठन गरेर अनुसन्धान थालेको हो
। मोटरसाइकल चोर गिरोहले विराटनगरको भिडभाड हुने क्षेत्रबाट पुरानो मोटरसाइकल चोरी गरी भारतको जोगबनीमा लगेर सस्तोमा बेच्ने गरेको पाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्