गुल्मीमा हावाहुरीले विद्यालयसहित थुप्रै घरको छानो उडायो, विद्युत् सेवा अवरुद्ध

 गुल्मी –  गुल्मीमा गए राति पानी सहित आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा भौतिक क्षति पुर्‍याएको छ । हावाहुरीका कारण घर, होटेल, विद्यालय लगायत संरचनाका छाना उड्नुका साथै पशुचौपायका खोर समेत क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गा बहादुर सारूले बताउनुभयो । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–४ स्थित जैसी थोक रौताडीका पूर्णप्रसाद पाध्याको दुई तले टिनको घरको छानो पूर्ण रूपमा उडाएको छ ।

त्यस्तै, सोही गाउँपालिका वडा नम्बर–३ बर्दिबासका कृष्ण बिस्टको दुई तले घरको पाली हावाहुरीले उडाएको छ । बिस्टको बाख्राको खोर समेत क्षतिग्रस्त बनेको छ । धुर्कोट गाउँपालिका वडा नम्बर–४ बर्बोट बजारमा सञ्चालित अरुण गैरेले सञ्चालन गरेको सुपारी होटेल एन्ड लज पनि हावाहुरीको क्षति पुर्‍याएको छ । होटेलको जस्ताले छाएको छानो पूर्ण रूपमा उडाएको छ । घटनास्थलमा प्रहरी हवलदार बल बहादुर विकको टोली पुगेर उद्धार सहित त्यहाँको अवस्था र क्षति विवरण सङ्कलन गरिएको डिएसपी सारूले बताउनुभयो ।

त्यस्तै, रेसुङ्गा नगरपालिका वडा नम्बर–५ गोवानेका अर्जुन विकको दुई तले टिनले छाएको घरको छानो उडाएको छ । रुरु क्षेत्र गाउँपालिका वडा नम्बर–५ ग्वादीका कृष्ण प्रसाद ज्ञवालीको ढुङ्गा–माटोले बनेको कच्ची घरको छानोसमेत उडाएको प्रहरी नायब उपरीक्षक सारूले बताउनुभयो । डिएसपी सारूका अनुसार जिल्लामा हालसम्म हावाहुरीका कारण मानवीय र पशुचौपायको क्षति भएको छैन । ग्रामीण क्षेत्रका केही विद्यालय पनि हावाहुरीको चपेटामा परेका छन् । चैत १७ गते मालिका गाउँपालिका वडा नम्बर–४ अर्खाबाङ्गस्थित अर्खाबाङ्ग माध्यमिक विद्यालयको छानो हावाहुरीले उडाएको छ । गाउँपालिका भित्रका ५ वटा विद्यालय, महिला समूहको भवन र अर्खाबाङ्ग बजार क्षेत्रका केही घरका छाना उडाएको प्रहरीले जनाएको छ । अहिले ग्रामीण क्षेत्रमा सामान्य पानी सहित हावाहुरी चलिरहेको छ । साथै विद्युत् सेवा समेत अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

जिल्लाका केही गाउँका नागरिकको जनजीवन प्रभावित भइरहेको छ । साथै पानी र हावाहुरीका कारण विद्युत् र टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । जिल्लाका विभिन्न स्थानमा हल्का वर्षासहित हावाहुरी अझै जारी रहेको पाइएको छ । प्रहरी र स्थानीय प्रशासन सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिरहेका छन् । अहिले प्रहरी र प्रशासनले हावाहुरीले पुर्‍याएको क्षतिबारे विवरण सङ्कलनको कार्यलाई तीव्रता दिएको छ । गुल्मीमा बिहीबार बिहानैदेखि मौसम खुल्न सकेको छैन भने सदरमुकाम तम्घास बजारमा चिसो समेत बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.