आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको धारणा

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे बताउनु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ ५९औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो धारणा राख्नु भएको हो ।

उहाँले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पुरा गर्न निजी क्षेत्रले निर्वाध रुपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने बताउनु भयो । अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरुको साझा धारणा बनाउनु पर्नेमा अध्यक्ष ढकालको जोड थियो ।
उहाँले भन्नुभयो , “अर्थतन्त्रलाई कुनै पनि वादले विथोल्नु हुँदैन् । यसलाई सबैभन्दा माथि राख्नु पर्छ । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो । त्यसका लागि पैसा, वुद्धि, विवेक र सीपको लगानी गर्नुपर्छ । त्यो भन्दा पनि पहिले पैसाको लगानी हुनु आवश्यक छ । जसले पछि उत्पादन गर्दा श्रम र सीपको माग गर्नेछ ।”

विगतमा सरकारले चाहिने भन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र संकुचन भएको उल्लेख गर्दै उहाँले त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको धारणा राख्नु भयो ।

प्रतिकुलतामा अनुकुलता खोज्दै देशमा केही गर्ने वातावरण सिर्जना गर्ने तर्फ सरकार र निजी क्षेत्र लाग्नु पर्नेमा अध्यक्ष ढकालको जोड थियो । “म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरुको चाहना पुरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्याला सहितको रोजगारीका अवसरहरु सिर्जना गर्न सक्दैनौँ, निराशालाई आशामा बदल्न सकिदैंन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो ।” उहाँले भन्नु भयो ।

पछिल्लो दुई वर्षमा भारत, चीन र युएईमा सम्पन्न चारवटा सम्मेलनको अनुभवबाट विदेशी लगानीकर्ता नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै उहाँले सार्थक प्रयास गर्ने हो भने विदेशी लगानी बढाउन सकिने बताउनु भयो ।

विश्वव्यापी रुपमा नयाँ आर्थिक परिवेशले पनि नेपाललाई लाभ दिने संकेत गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालका प्रतिष्पर्धी मुलुकहरुको तुलनामा अमेरिकाले नेपालका लागि निकै कम भन्सार दर तोकेकोले नेपालमा लगानी बढ्न सक्ने सम्भावना झन बलियो बनाएको र यसबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनु भयो ।

देशभित्र लगानीकर्ताको मनोबल बढाउन बहस पैरवीसँगै महासंघको पहलमा आन्तरिक पुँजी परिचालनका लागि नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी दिंदै अध्यक्ष ढकालले यसले मुलुकका ७७ वटै जिल्ला र मुलुक बाहिर छरिएर रहेको सानोसानो पूँजीलाई एकत्रित गर्दै ठूला आयोजनामा लगानी अवसर खोलिदिएको बताउनु भयो ।

पछिल्लो पटक भएका नीतिगत सुधारले सकारात्मक संकेत गरेको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटलाई सुधारको प्रस्थान बिन्दुका रुपमा ल्याउनु पर्नेमा जोड दिनु भयो ।

सरकारले महासंघको आग्रहमा गरेको नयाँ चरणको आर्थिक सुधार र त्यसको आधार तयार पार्न उच्चस्तरिय आयोग गठन, करिब ३५ वटा कानुनमा सुधार, द्विपक्षीय लगानी सम्झौताको खाका तयार तथा उत्पत्तिको प्रमाण पत्रलाई पूर्ण अनलाइन बनाउने जस्ता कार्य सकारात्मक भएको बताउँदै सरकारको यो अग्रसरताले अर्थतन्त्रलाई चलायमान बनाउने बताउनु भयो ।

यद्यपीे देशमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको , ८० प्रतिशत भन्दा बढि प्रत्यक्ष र अप्रत्यक्ष राजश्वमा योगदान र ८१ प्रतिशत हिस्सा लगानी गरेको निजी क्षेत्र अझै सम्मानित हुने अवस्था नरहेको बताउँदै, उहाँले निजी क्षेत्रको सुरक्षा, सम्मान र मर्यादाक्रमको बिषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।

“हामीले सुरक्षाको विषय उठाएका हांै । सम्मानको बिषय उठाएका हौं । मर्यादाक्रमको बिषय उठाएका हौ । यसमा राज्यको कुनै लगानी हुँदैन । मात्र सदभाव चाहिएको हो । ”उहाँले भन्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.